माधव नेपालको दाबी : ‘पोखरामा एसका ८ हजार पार्टी सदस्य छन्’

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा महानगरपालिकामा आफ्ना ८ हजार पार्टी सदस्य रहेको दाबी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । आफ्नो शक्तिका आधारमा पोखरामा मेयर दाबी गरेको अध्यक्ष नेपालको भनाइ छ ।

एकीकृत समाजवादीको केही अर्थ छैन भनेको प्रति उनले असन्तुष्टि व्यक्त गरे । ‘पोखरा महानगरपालिकामा मात्रै हामीसँग झन्डै झन्डै पार्टी सदस्य ८ हजार छन् । ८ हजार पार्टी सदस्य हुनु भनेको सजिलो कुरा हो ? भोटर होइन कार्यकर्ता र क्रियाशील सदस्यहरू ८ हजार छन् । जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्छ,’ उनले भने ।

एउटा पालिकामा १ सय ३४ मत पाएको दलले अहिले पालिका प्रमुखको दाबी गरिरहेको भन्दै उनले एकीकृत समाजवादी त्योभन्दा धेरै ठूलो शक्ति रहेको पनि बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको बाँटफाँट गर्नुपर्ने बताए । उनले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले कुन तहमा किन दाबी गर्न लागेको हो भन्ने कुरा स्पष्टसँग राख्नुपर्ने बताए ।

जुन पार्टीको जति शक्ति हो त्यसको आधारमा दाबी गर्नुपर्ने नेपालको भनाइ थियो । उनले पार्टी कार्यकर्ता स्वभावैले चुनावमा उम्मेदवार बन्न पाउनुपर्ने दाबी गर्ने तर हारेपछि पार्टीमा नै सक्रियसम्म नहुने कुरा नेताहरूले बुझ्नुपर्ने बताए । ‘सिटको तालमेल गर्ने कुरा गरिरहेका छौं । वास्तवविकताभन्दा पनि तलतलका कार्यकर्ताको कुरा सुनेर चल्ने स्थिति बन्यो भने अप्ठ्यारो हुन्छ,’ उनले भने, ‘चुनाव यस्तो बेला हो जहाँ सबै मान्छेलाई चुनावमा उठ्ने रहर हुन्छ । जमानत जफत हुने भएपछि पनि म त दुई तिहाईले जित्छु भन्छ ।’

सत्तारुढ गठबन्धनका दलहरूबीच एमालेले २०७४ सालमा जितेका स्थानीय तहमा पहिलो दाबी गर्ने अधिकार एकीकृत समाजवादीको भएको नेपालको भनाइ थियो । उनले एमालेका कार्यकर्ताहरूलाई जाने ठाउँ एकीकृत समाजवादी रहेको उनको दाबी गरे । ‘एमाले विजयी भएका स्थानीय तहमा पहिलो हक एकीकृत समाजवादीको लाग्छ । अरु पार्टीले चाहेर पनि एमालेका मान्छेलाई तान्न सक्दैनन्,’ उनले एमालेभित्र अन्यायमा परेका कार्यकर्ताहरूले चुनावपछि निर्णय लिन्छौं भनेर सन्देश पठाइरहेको पनि दाबी गरे ।

नेपालले गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा जोसँग सहमति हुन्छ त्यो पार्टीसँग चुनावी तालमेल गर्ने र कसैसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी कार्यकर्ताहरूलाई अगाडि बढ्न निर्देशन दिए । ‘कुनै पार्टीसँग सहमति हुन सकेन भने जोसँग सहमति हुन्छ, त्यो दलसँग चुनावमा जानेछौं । एक्लै जित्छौं लागेको छ कसैलाई भने एक्लै पनि उभिन सक्छ । तर जित सुनिश्चित हुनुपर्छ’ उनले भने ।

 

  • ३ बैशाख २०७९, शनिबार १८:५४ प्रकाशित