पोखरामा ‘एस’लाई मेयर दिनु सिधै एमालेलाई जिताउनु हो : कांग्रेस नेता रमेश रिजाल

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसका नेता रमेश रिजालले काठमाडौं या पोखरामा मेयर पद नेकपा एकीकृत समाजवादीलाई दिनु भनेको नेकपा एमालेलाई जिताउनु भएको बताएका छन् । गठबन्धन भित्रको भागबन्डा अनुसार पोखरामा आफुहरुले मेयर पाउनुपर्ने माधव नेपाल नेतृत्वको नेकपा एसको दाबी छ ।

कांग्रेस नेता रिजालले भने काठमाडौं र पोखरामा नेकपा एसको दाबी उचित नभएको बताएका छन् । उनले भनेका छन्,‘पोखरा या काठमाडौंमा माधवजीको दाबी उचित छैन । यसले काठमाडौं वा पोखरामा मेयर जित्ने होइन । त्यो भनेको सीधै एमालेलाई जिताउनु हो । उसले सोच्नुपर्छ, एमालेलाई हराउने हो कि सबै जना पराजित भएर एमालेलाई जिताउने हो ?’

यस्तै उनले मधेस प्रदेशमा कांग्रेस एक्लैले जित्ने दाबी गरेका छन् । मधेस प्रदेशको परिस्थिति भिन्न भएकाले चुनावमा गठबन्धन आवश्यक नभएको भन्दै कांग्रेस एक्लैले जित्ने उनले दाबी गरेका हुन् ।

रिजालले भने, ‘मधेस प्रदेशमा एमाले तेस्रो, चौथो या पाँचौं पोजिसनमा छ । त्यसैले गठबन्धनका साथीहरुले तालमेल गर्नुपर्ने आवश्यकता छैन । गठबन्धनभित्रै जित्ने अवस्थामा हामी मित्रतापूर्वक प्रतिस्पर्धा गर्न सक्छौं । तर केन्द्रसम्म यो विचार पुगेको छैन । यसबारे म आज सभापति शेरबहादुर देउवासँग कुरा गर्छु ।’मधेस प्रदेशमा एमालेले जित्ने कुनै सम्भावना नरहेको पनि उनले दोहोर्याए ।

रिजालले थपे, ‘गर्नुपर्ने ठाउँमा आवश्यकता अनुसार तालमेल गरौं न । नपर्ने ठाउँमा स्वस्थ प्रतिस्पर्धा गरौं न । जबर्जस्ती गर्दा अनकूल हुँदैन ।’

मधेस प्रदेशमा कांग्रेसका उम्मेदवार तय भइसकेको दाबी उनले गरे ।

  • २ बैशाख २०७९, शुक्रबार १०:१२ प्रकाशित