काठमाडौं ।
आजदेखि देशका ७५ लाख बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाउँदैछन् ।
१५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई सो खोप लगाइने भएको हो ।स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो ।
खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गरेका थिए । केही क्षेत्रमा केही दिनदेखि खोप लगाउन सुरु भए पनि आजदेखि अभियान नै सुरु भएको हो ।
नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ ।
पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिएको स्वास्थ्य विभागले जनाएको छ । अभियान १८ वैशाखसम्म चल्नेछ ।