रुपन्देहीको तिलोत्तमा नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

केन्द्रभाग मिडिया

रुपन्देही ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि तिलोत्तमालाई मुलुककैं पहिलो कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

आइतबार गरिएको घोषणालाई सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक एकराज विश्वकर्माले सार्वजनिक गरे । नेपाल सरकारले ल्याएको पूर्णखोपको अवधारणाअनुसार तिलोत्तमालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ ।

त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमुख विश्वकर्माले तिलोत्तमाले नगरलाई पूर्णखोप घोषणा गरेर नगरबासीको स्वास्थ्यप्रति जिम्मेवार बनेको बताए । तिलोत्तमाले सरसफाई, शिक्षा, स्वास्थ्यमा दिएको प्राथमिकता अन्य पालिकाका लागि सिकाइ बनेको बताउँदै घोषणालाई दिगो बनाइनुपर्नेमा जोड दिए । यस्तै स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले तिलोत्तमा कार्यविधिअनुसार काम गरेर मुलुकमैं पहिलो कोरोना विरुद्धको खोप सुनिश्चितता भएको पालिका बन्न सफल बनेकाबताए । उहाँले अब बुष्टर डोजलाई पनि यसैगरी अघि बढाउनुपर्ने बताए ।
नगर प्रमुख बासुदेव घिमिरेले खोप अभियानमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै खोपको दिगोपनको लागि नगरपालिकाले योजनाबद्ध रुपमा काम गर्ने बताऐ । त्यसअवसरमा जिल्ला खोप समन्वय समितिले नगरपालिकालाई पूर्णखोप भएको प्रमाणपत्र प्रदान गरेको थियो ।
तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका १ लाख २८ हजार ५३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना रहेका छन् । लक्षित जनसंख्या ९५ हजार ९६६ रहेकोमा तिलोत्तमामा लक्षितभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

नगरपालिकाभन्दा बाहिरका व्यक्तिहरुले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएकोले लक्ष्यभन्दा बढी प्रगति हासिल भएको स्वास्थ्य शाखाले जनाएको छ । परिवार सर्वेक्षण गरेर छुटेका ७ हजार ७७ जनालाई खोप लगाइएसँगै तिलोत्तमा कोरोना विरुद्धको खोप सुनिश्चितता भएको पहिलो पालिका बनेको हो ।

खोप लगाउन बाँकी रहेका व्यक्ति पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो । टोलीले पहिचान गरेका व्यक्तिहरुलाई खोप लगाएपछि आइतबार जिल्ला खोप समन्वय समितिले समेत अनुगमन गरेर तिलोत्तमालाई पूर्णखोप सुनिश्चित पालिका ठहर गरेको स्वास्थ्य शाखाले जनाएको छ । नेपालमा हालसम्म १२ वर्षमाथिका व्यक्तिलाई मात्र कोरोना विरुद्धको खोप लगाइएको छ ।

  • १६ फाल्गुन २०७८, सोमबार १४:३५ प्रकाशित