युक्रेन द्वन्द्वमा अड्केका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

केन्द्रभाग मिडिया

काठमाडौं ।

युक्रेन र रुसबीच भइरहेको द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ ।

रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट ‘रुस(युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो ।

गैरआवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिसमेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन् ।

समितिको सदस्य सचिवमा डा। चिरन्जिवी खड्का (चेक रिपब्लिका), सदस्यहरूमा जीवन केसी (पोल्याण्ड), हरिबहादुर मल्ल (युक्रेन), शिवकुमार भुर्तेल (रुस), जयाप्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हङगेरी), यदुराम पन्थी (चेक रिपब्लिक), मिलन पन्त (जर्मनी) र प्रेस संयोजकमा चिरन शर्मा (यूके) रहेका छन् ।

द्वन्द्वपीडितका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा. बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ ।

जर्मनीका लागि नेपाली राजदुत खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२५ जना नेपाली दुतावासको सम्पर्कमा आएको जानकारी दिए ।उनले ती नेपालीहरुको सहयोगको लागि दुतावासले नेपाली सरकार, स्थानीय संघसंस्थासँग समन्वय गरिरहेको बताए ।

रुसले आक्रमण थालेपछि युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीय सहायताको आधारमा पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ-आफ्ना देशका सिमाना खुल्ला गरिदिएका छन् । नेपालीहरुलाई पनि आवश्यक कागजपत्र बोकेरै तिनै देशतर्फ जान वर्लिनस्थित दूतावासले आग्रह गरेको छ ।

  • १५ फाल्गुन २०७८, आईतवार १०:३७ प्रकाशित