काठमाडौं ।
नायक पल शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै गायक दुर्गेश थापासहितका व्यक्तिहरुमा आरोप लगाएपछि दुर्गेशले पनि त्यसबारे प्रतिक्रिया जनाएका छन् ।
पछिल्लो समय पलको नजिकको साथी मानिएका दुर्गेश पलको आरोप पछि उक्त प्रकरणमा बोलेका हुन् । उनले भनेका छन्,‘पलले समिक्षासँग दुईवर्षपछि विवाह गर्छु भनेकै हो । ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।’
दुर्गेशका अनुसार पीडित किशोरी पलप्रति असाध्यै क्रेजी थिइन्। धेरै सम्झाउँदा पनि किशोरीले विवाह गर्ने भन्दा अरु कुरा मान्य नहुने बताएकी थिइन्। ‘हामीले छलफल गरेको घटना घटिसकेपछिको कुरा हो। अडियोमा त हामीले बोलेको हो, के के बोलेको पनि छ। भोलि ठूलो टेन्सन नहोस् भनेर नै हामीले कुरा गरेका थियौँ। हामीले पहिला पनि मिलाएका नै थियौँ। दुई वर्षपछि विवाह गर्ने समझदारी थियो’ उनले भने।
‘नाबालिकाले नै पटक–पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छरु’ उनले थप्दै भने, ‘अहिलेसम्म साथी हो, उसको कुरा बाहिर नआओस् भनेर नबोली हिँडेको हो, उसले नै बोल्छ भने अब हामी पनि बोल्छौँ।’
पलले आज बिहान दुर्गेश थापा, म्यानेजर कृष्णप्रसाद जोशी, गायक तथा भिडियो निर्माता सरोज ओली र गायक सम्राट चौलागाईको नाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।पलले अडिओ क्लिपसहित उनीहरुको नाम उल्लेख गरेपछि गायक थपा उक्त प्रकरणमा बोलेका हुन् ।
नायक पल शाह विरुद्ध बुधबार तनहुँको प्रहरी कार्यालयमा नाबालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेको थियो।