जसपामा कोही पनि एमसीसीविरोधी छैन : मनीष सुमन

केन्द्रभाग मिडिया

काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले आफ्नोमा कोही पनि एमसीसी विरोधी नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कका लागि अन्र्तवार्ता दिदै सुमनले भने, “जसपामा बाबुराम भट्टराई पक्षमा हुनुहुन्छ । उपेन्द्र यादव मौन हुनुहुन्छ । तर कोही पनि विपक्षमा छैन ।

एमसीसीको छलफलका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि डाकिएको छ । औपचारिक निर्णय गर्न बाँकी रहेको र त्यसमा अलमल वा ढिला गरियो भने जसपाका सांसदहरुले स्वविवेकले मतदान गर्नेछन् ।”

नेता सुमनले कुनै देशको दबाबका कारण एमसीसीलाई राष्ट्रघाती भन्न नमिल्ने बताए । उनले भने, “एमसीसीमा बेठीक केही पनि छैन । एमसीसी राष्ट्रघाती हो भन्ने धारणा नै तुहिइसकेको छ । पार्टीको औपचारिक निर्णय नभए पनि हामी सबैजसो एमसीसीको फेबरमा छौं । एकढिक्का हुनलाई नै औपचारिक निर्णय पर्खिएका हौं ।”

आफ्नो पार्टीलाई अमेरिका वा चीनको कुनै किसिमको दबाब नरहेको पनि स्पष्ट पारे । उनले भने, “कसैले हामीलाई कुनै देशको दबाब आउँछ भनेर सोच्नु किमार्थ गलत हुन्छ । जसपा नेपाली जनताले बनाएको पार्टी हो । जसपालाई अमेरिकाले समर्थनका लागि आग्रह गरेको पनि छैन । चीनले विरोधका लागि अनुरोध गरेको पनि छैन । हामी स्वविवेकमा मतदान गर्छौं । जो जो चीनको अधीनस्थ छन्, तिनले मान्लान्, हामीलाई कसैको दबाब आएको छैन ।”

एमसीसी नेपाल र अमेरिकाबीचको मुद्दा रहेकाले त्यसमा चीनले बोल्नुको तुक नहुने पनि जसपा नेता समुनले औंल्याए । उनले थपे, “एमसीसी सीधा सीधा दुई देशबीचको मुद्दा हो । यसमा चीनले के भन्छ भन्ने कुराको मतलब हुन्न । यसमा चीनले हस्तक्षेप गर्ने कुरा पनि आउँदैन । यो चुपके चुपके चोरी चोरी भएको करा होइन । नेपालले कुनै देशसँग सम्बन्ध गरिरहँदा तेस्रो मुलुकको सुझाव चाहिँदैन । चीनको कुनै पनि दबाब र हस्तक्षेप गलत हो । हामी त्यसको खुला विरोधमा छौं ।”

एमसीसीका कारण जसपाभन्दा पनि गठबन्धन फुटको संघारमा पुगेको उनले बताए । सुमनले भने, “साँच्चै भन्ने हो भने जसपाको विभाजन औपचारिक संज्ञानमा छैन । केही न केही त अवश्य अप्ठ्यारा छन् ।

मंसिरदेखि राष्ट्रिय कार्यकारिणी समितिको बैठक नभएकाले नेताहरुबीच असमझदारी बढेको जस्तो देखिन्छ । यो वैकल्पिक पार्टी हो । मूलधारका दलहरुबाट वाक्क दिक्क भएका जनताले पार्टीभित्र पद्धतिगत सुधार ल्याउनुपर्छ भन्ने चाहेका छन् । मेरो विचारमा जसपा होइन, द्वैध किसिमको नीतिका कारण ५ दलीय सत्ता गठबन्धनचाहिँ फुटको संघारमा छ ।”

  • १२ फाल्गुन २०७८, बिहीबार ११:०३ प्रकाशित