केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि

केन्द्रभाग मिडिया

पोखरा  ।
केन्याली धावक स्टेफेन कोस्गीले १६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन् । नेपाल भुतपूर्व खेलाडी मञ्च द्वारा ७१ औं प्रजातन्त्र दिवशका अवसरमा शनिबार आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावक स्टेफेनले निर्धारित दुरी ४२.१९५ किमि २ घन्टा १९ मिनेट ४३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । स्टेफेनले उपाधि संगै नगद ४ लाख नगद हात पारे ।

त्यस्तै केन्याकै  धावक सिमिअन किप्लागाट टुले निर्धारित दुरी २ घन्टा २१ मिनेट ३ सेकेण्डमा पार गर्दै दोश्रो स्थान प्राप्त गरे । उनले नगद २ लाख हात पारे । विभागिय टोली नेपाली सेनाका मोहन देव जोशी २ घन्टा ३३ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् । उनले नगद १ लाख प्राप्त गरेका छन् । उनी नेपाली धावकहरु मध्ये पहिलो स्थान प्राप्त गरेका छन् ।

एपिएफ क्लवका सन्तोष विक्रम विष्टले उक्त दुरी २ घन्टा ३४ मिनेट ४८ सेकेण्डमा पार गर्दै चौथो स्थान हात पारेका छन् । उनले नगद ३० हजार प्राप्त गरे ।

यता महिलातर्फ भएको २१ किमि हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले उपाधि जितेकी छन् । उनले निर्धारित दुरी १ घन्टा २१ मिनेट २६ सेकेण्डमा पार गर्दै नगद १ लाख हात पारीन् ।

एपिएफ क्लवकी विन्द्रा धान्के श्रेष्ठले १ घन्टा २७ मिनेट ४१ सेकेण्डमा पार गर्दै दोश्रो भइन । उनले नगद ५० हजार प्राप्त गरिन् । जुम्लाकी राममायाँ वुढाले १ घन्टा ३० मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेश्रो भइन । उनले नगद ३० हजार प्राप्त गरिन ।

युकेकी धावकहाना क्यारसले १ घन्टा ३२ मिनेट ५८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथो भइन्। उनले नगद १५ हजार प्राप्त गरिन ।

विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार वितरण गरेका थिए ।

  • ७ फाल्गुन २०७८, शनिबार १६:०६ प्रकाशित