काठमाडौं ।
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतासँग जोडिएका विषयमा कमजोर देखिएको आरोप लगाएको छ ।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले बिहीबार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमण राष्ट्रियताको दृष्टिकोणले उपलब्धिमूलक र उल्लेखनीय हुन नसकेको बताएका छन् ।
उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताको सीमा विवादबारे भारतसँग छलफलसमेत नगरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् । भारतले नेपालको अनुमति विना लिपुलेक क्षेत्रमा सडक निर्माण गरिरहेको र भारतीय पक्षले प्रधानमन्त्री शाहकै उपस्थितिमा लिपुलेकलाई भारत–चीन सीमा भनेको विषयमा पनि उनले आपत्ति जनाएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘लिपुलेक, कालापानी, लिम्पियाधुरासहित सुस्ताको सवालमा प्रधानमन्त्रीले भारतका अगाडि आत्मसमर्पणवादी नीति नै अपनाएका छन् । भारत भ्रमणका दौरान प्रधानमन्त्रीले भारतका अगाडि देखाएको आत्मसमर्पणवादी नीतिको पार्टीले कडा शब्दमा विरोध गर्दछ ।’
राष्ट्रिय जनमोर्चाले सन् १९५० को असमान सन्धिलगायतका पुराना सम्झौता पुनरावलोकन गर्ने विषयमा पनि प्रधानमन्त्रीले भारतसँग छलफल गर्न नसकेको आरोप लगाएको छ ।
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह –ईपीजीले तयार पारेको संयुक्त प्रतिवेदन भारतले बुझ्न अस्वीकार गर्दै आएको अवस्थामा प्रधानमन्त्रीले उक्त विषयसमेत भ्रमणको एजेन्डा बनाउन नसकेको जनमोर्चाको भनाइ छ ।
भारतीय विदेश सचिवले इपीजीको सान्दर्भिकता पुरानो भइसकेको अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै पार्टीले प्रधानमन्त्रीले उक्त विषय छाडेको आशंका व्यक्त गरेको छ ।
यद्यपि, काठमाडौं–भैरहवा–लखनउ हवाई रुट उपलब्ध गराउने सहमतिलाई भने राष्ट्रिय जनमोर्चाले सकारात्मक रूपमा लिएको छ । तर विगतमा पनि भारतले विभिन्न हवाई रुट उपलब्ध गराउने सहमति गरेर कार्यान्वयन नगरेको भन्दै यसपटकको सहमति पनि कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेको छ ।
त्यस्तै, भोटेकोशी बाढीपीडितका लागि राहत तथा नेपालको विकासका विभिन्न परियोजनामा भारतले सहयोग गर्ने सहमतिलाई सकारात्मक माने पनि त्यस्तो सहायता निस्शर्त हुनुपर्ने पार्टीको माग छ ।
विगतमा भारतले प्राकृतिक प्रकोप र भूकम्पका बेला दिने अनुदानमा अवाञ्छित सर्त राख्ने गरेको र त्यसकै कारण प्राप्त अनुदानसमेत फिर्ता गर्नुपरेको घटनाबाट पाठ सिक्नुपर्ने वक्तव्यमा उल्लेख छ ।
प्रधानमन्त्री शाहलाई अवसरवादी र अविश्वसनीय व्यक्तिको संज्ञा दिँदै राष्ट्रिय जनमोर्चाले उनको नेतृत्वमा देशले कुनै पनि प्रकारको दुर्घटना बेहोर्नसक्ने आशंकासमेत व्यक्त गरेको छ ।












