पोखरा ।
फेवा किड्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता-२०८३ को तयारी पूरा भएको छ ।
प्रतियोगिताको आयोजक युनाइटेड किड्स क्लब पोखराले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता यहि मङ्सिर ९ गतेदेखि १५ गतेसम्म पोखरा रङ्गशालामा आयोजना हुने भएको छ ।
प्रतियोगितामा नेपालका ६ उत्कृष्ट टोलीहरूको सहभागिता रहने कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए । सहभागी टोलीहरूमा नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिबल संघ र किङ्स पोखरा भलिबल क्लब रहेको संयोजक गुरुङले बताए ।
प्रतियोगितामा सहभागी टिमहरु क्रमशः नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, नेपाल आर्मी क्लब, कोषी प्रदेश भलिबल संघ, गण्डकी प्रदेश भलिबल संघ र किड्स पोखरा विच उपाधिको लागी प्रतिस्पर्धा रहेनछ ।
खेल हेर्नका लागि टिकट शुल्क २५०० रुपैयाँ निर्धारण गरिएको संयोजक गुरुङले बताएका छन् ।
प्रतियोगिताको उपाधि राशी ४ लाख रुपैयाँ रहेको सचिव अशोक थापाले जानकारी दिए । सचिव थापाको अनुसार द्वितीय हुने टिमले २ लाख ५० हजार, तृतीय हुने टिमले १ लाख र सान्त्वना हुने टिमले ५० हजार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा उत्कृष्ट विधाहरुमा पनि पुरस्कार प्रदान गर्ने थापाले बताए ।
सर्वोउत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट सर्भरले १० हजार, उत्कृष्ट सेटरले १० हजार, उत्कृष्ट ब्लकरले १० हजार, उत्कृष्ट लिब्रोले १० हजार, उत्कृष्ट स्पाईकर र उत्कृष्ट प्रशिक्षकले १०–१० हजार प्राप्त गर्ने थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न ६० लाख ९५ हजार खर्च लाग्ने र ७१ लाख आम्दानी हुने आयोजकको अनुमान रहेको छ ।
राष्ट्रिय स्तरमा पुरुष भलिबल खेलको विकास, विस्तार र प्रवर्द्धन गर्ने, प्रतिभाशाली खेलाडीहरूलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने तथा पोखरालाई राष्ट्रिय खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक क्लबका अध्यक्ष अशोक गुरुङले बताए ।
अध्यक्ष गुरुङको अनुसार प्रतियोगिताको पुरस्कार, खेलाडी व्यवस्थापन, आवास, भोजन, यातायात, खेल मैदान तथा प्राविधिक व्यवस्थापनलगायतका विषयमा आयोजकले नै व्यवस्थापन गर्नेछ ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू पब्लिक फोरके टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने आयोजकले बताएको छ ।यस प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न क्लबले विभिन्न सरकारी निकाय, खेलकुद संघसंस्था, प्रायोजक, सहयोगी संस्था तथा खेलप्रेमी महानुभावहरूसँग सहकार्य र समन्वय गरिरहेको छ ।













