पोखरा ।
‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता २०८३’ को मुख्य उपाधि (ग्रस विजेता) प्रेम तामाङले जितेका छन् । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा कुल ६० स्कोर जोड्दै च्याम्पियन बनेका तामाङले उपाधिसँगै नगद २० हजार रुपैयाँ र ट्रफी हात पारे ।
हिमालयन गल्फ कोर्स र हिमालयन स्पोट्र्स म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा ५ र ६ मंसिरमा चलेको प्रतियोगितामा डिभिजन ‘ए’ (१–९ ह्यान्डीक्याप) तर्फ ६१ स्कोरका साथ प्रज्वल गुरुङ विजेता र ६० स्कोर जोडेका कवि थापा उपविजेता बने । डिभिजन ‘बी’ (१०–१४ ह्यान्डीक्याप) मा विश्व मान गुरुङ (६६ स्कोर) च्याम्पियन बन्दा एएसपी लिलाजंग गुरुङ (५३ स्कोर) उपविजेतामा सीमित भए । यस्तै, डिभिजन ‘सी’ (१५–१८ ह्यान्डीक्याप) तर्फ एसी शेर्पा (६४ स्कोर) विजेता र सुवास घले (५२ स्कोर) उपविजेता घोषित भए । तीनवटै डिभिजनका विजेताले जनही २० हजार र उपविजेताले १५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे ।
महिलातर्फ ६५ स्कोर जोड्दै बालकाशी गुरुङ विजेता बनिन् भने ६२ स्कोर ल्याएकी जानवी गुरुङ उपविजेता बनिन् । महिला विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ तथा ट्रफी प्राप्त गरे । यस्तै, ६० वर्षमाथिको सिनियर विधामा ६४ स्कोरका साथ मेजर खिम गौचनले उपाधिसहित नगद १५ हजार रुपैयाँ र ट्रफी जिते ।
व्यक्तिगत तथा विशेष विधातर्फ खुला ‘लङ्गेस्ट ड्राइभ’ को उपाधि उदिम कुमार राईले जित्दा सिनियर (६०+) तर्फ क्याप्टेन राजेन्द्र गौचन उत्कृष्ट ठहरिए । ‘नियर टु द पिन’ (एनटीपी) मा इन्द्रधारा बिष्ट विजेता बने । होल नम्बर १८ को दोस्रो सटमा झण्डाको नजिक (११ फिट १० इन्च) बल पु¥याउँदै एएसपी लिलाजंग गुरुङ तथा सोही होलमा ५ मिटर ९ सेन्टिमिटरको ‘लङ पट’ प्रहार गर्दै मेजर जनरल सुदर्शन सिलवाल विजेता बने । विशेष विधाका पाँचै जना विजेताले जनही ५ हजार रुपैयाँ र ट्रफी पाए । होल नम्बर ४ मा राखिएको ‘होल इन वन’ को विशेष पुरस्कार भने कसैले जित्न सकेनन् ।
स्टेबलफोर्ड ३-४ ह्यान्डीक्याप फम्र्याटमा ३६ होलमा खेलिएको प्रतिस्पर्धामा अमेरिका, बेलायत, सिंगापुरका गैरआवासीय नेपाली (एनआरएन) तथा स्वदेशका विभिन्न सहरका करिब ७० एमेच्योर गल्फर सहभागी थिए । पोखराको खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितालाई नेप्लिज डायस्पोरा स्पोट्र्स एण्ड कल्चर क्लब अमेरिकाले मुख्य प्रायोजन तथा गोर्खा ब्रुअरीले सहप्रायोजन गरेको थियो ।













