काठमाडौं ।
निजी मेडिकल तथा डेन्टल कलेजहरूले चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्क पुनरावलोकन नभएसम्म स्नातकोत्तर (पीजी) र स्नातक (यूजी) तहमा विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएका छन् ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले शिक्षण शुल्क समायोजन र सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म भर्ना प्रक्रिया अघि बढाउन नसक्ने जनाएको हो ।
एसोसिएसनले चिकित्सा शिक्षा आयोगलाई समेत भर्ना प्रक्रिया अगाडि नबढाउन अनुरोध गरेको छ ।चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको सिटको आधार र मूल्याङ्कन प्रक्रिया पारदर्शी नभएको भन्दै त्यसको विस्तृत विवरण २४ घण्टाभित्र सार्वजनिक गर्न एसोसिएसनले माग गरेको छ ।
आयोगले गत ३० असोजमा शैक्षिक सत्र २०८३/८४ का लागि सिट निर्धारणसम्बन्धी सूचना जारी गरेको थियो ।
‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा नियमावलीमा भएको व्यवस्था अनुसार स्नातक तथा स्नातकोत्तर तहका चिकित्सा शिक्षा कार्यक्रमहरूको शिक्षण शुल्क वास्तविक लागत, मुद्रास्फीति तथा सञ्चालन खर्चमा आधारित वैज्ञानिक र न्यायोचित आधारमा पुनरावलोकन तथा समायोजन गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।
कुन मापदण्डका आधारमा सिट निर्धारण गरियो, कुन सुचकलाई कति भार दिइयो र कुन कलेजले कति अङ्क प्राप्त गरे भन्ने विवरण सार्वजनिक हुनुपर्ने एसोसिएसनले जनाएको छ ।
साथै, प्रत्येक शिक्षण संस्थाको मूल्याङ्कन विवरण, सिट वृद्धि, यथावत् कायम वा कटौती गर्नुको स्पष्ट आधारसमेत आयोगको वेबसाइटमा राख्न आयोगलाई अनुरोध गरेको छ ।













