प्रधानमन्त्री शाह आज राजकीय भ्रमणका लागि भारत जाँदै

सोमबार साँझ ४ः५० बजे स्वदेश प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाह आज आइतबार भारत जाँदैछन् । उनी दिउँसो १:४५ बजे ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजकीय भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

दुई दिनका लागि भारतको राजकीय भ्रमणमा जानका लागेका प्रधानमन्त्री शाह पहिलोपटक औपचारिक विदेश भ्रमण गर्न लागेका हुन् । शाहले गत १३ चैतमा नेपालको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन् । त्यहाँ पुगेपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट भ्रमण टोलीमा राजदूतसहित केही सदस्य थपिनेछन् ।

प्रधानमन्त्री शाह आज दिल्ली ओर्लिंदा त्यहाँस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन् ।

भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह भारतीय समय दिउँसो ३:१५ बजे (नेपाली समय ३:३० बजे) नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अवतरण गर्नेछन् । त्यसपछि साँझ ६ बजे भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने तालिका छ । भेट ताजमहल होटलमा हुनेछ ।

भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ । त्यसपछि बिहान १०ः४० बजे उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

सोमबार बिहान ११ बजे प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ । दुई प्रधानमन्त्रीबिचको भेटवार्तापछि दिउँसो १२:२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा दुवै पक्षबाट प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ ।

यसपछि प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३:१५ बजे भारतको राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणको अन्तिम दिन सोमबार साँझ ४ः५० बजे टोलीसहित प्रधानमन्त्री शाह भारतबाट स्वदेश प्रस्थान गर्नेछन् ।

भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग तथा विभिन्न समझदारी र सम्झौताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

  • ६ मंसिर २०८३, आईतवार ०७:५० प्रकाशित