तेस्रो संस्करणको एनपीएलको फाइनल भिडन्त आज

गत सिजनकै फाइनलिस्ट बीच भिडन्त, लुम्बिनीले उपाधि रक्षा गर्ला वा सुदूरपश्चिमले गत सिजनको बदला लिँदै उपाधि जित्ला ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज (शनिबार) हुँदैछ । उपधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । गत संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए । त्यतिबेला लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपटक पनि फाइनलमा भेट भएपछि लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा हुनेछ भने सुदूरपश्चिमसँग अघिल्लो फाइनलको हारको बदला लिने अवसर हुनेछ ।

लिग चरणको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो । पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

त्यसैले यसपटक सुदूरपश्चिमलाई लुम्बिनीविरुद्ध पहिलो जित निकाल्दै उपाधि उचाल्ने चुनौती छ । लुम्बिनीका कप्तान रोहित पौडेललाई लगातार दुई उपाधि जित्ने पहिलो कप्तान बन्ने अवसर पनि छ ।

दुबै टोलीका कप्तानले फाइनलका लागि आफूहरु तयार रहेको बताएका छन् । कप्तान रोहितले फाइनलका लागि तयार रहेको बताए । उनले आफूहरु उतसहित रहेको सुनाए । ‘हामीमा अहिले कुनैपनि अवस्थाबाट जित्न सक्छौं भन्ने कन्फिडेन्स आएको छ । राम्रो क्रिकेट खेल्नुपर्छ । बेस्ट गेम खेल्यौं भने जित्न सक्छौं’ रोहितले भने ।

यस्तै सुदूरका कप्तान दीपेन्द्रले पनि फाइनलका लागि तयार रहेको बताए । उनले पछिल्ला खेलहरु नै आफूहरुका लागि तयारीको अबसर बनेको उल्लेख गरे । ‘पछिल्ला खेलहरू नै हाम्रो लागि तयारीजस्तै हो’ उनले भने ।

यस्तो छ, दुबैटोलीको फाइनल यात्रा

लुम्बिनीले प्रतियोगिताको सुरुवातदेखि नै निरन्तर राम्रो प्रदर्शन गर्दै आएको छ । पहिलो खेलमै सुदूरपश्चिमलाई हराएको लुम्बिनीको दोस्रो खेल चितवनसँग वर्षाका कारण रद्द भएको थियो ।

त्यसपछि पोखरा र जनकपुरलाई हराएको लुम्बिनी पाँचौं खेलमा काठमाडौँसँग पराजित भयो । तर, त्यसपछि कर्णाली र विराटनगरलाई हराउँदै लिग चरणको शीर्ष स्थानमा रह्यो ।

पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै पराजित गर्‍यो । यससँगै टोलीले सिधै फाइनलमा स्थान बनायो। प्रतियोगिताभर स्थिर प्रदर्शन गरेको लुम्बिनीले फाइनलसम्म आइपुग्दा आफ्नो लय कायम राखेको छ ।

सुदूरपश्चिमको यात्रा भने केही उतारचढावपूर्ण रह्यो । पहिलो खेलमा लुम्बिनीसँग पराजित भएपछि टोलीले पोखरालाई हराउँदै पुनरागमन गर्‍यो । तेस्रो खेलमा विराटनगरसँग पराजित भए पनि त्यसपछि चितवन, कर्णाली, जनकपुर र काठमाडौँलाई लगातार हराउँदै लिग चरणमा दोस्रो स्थान हासिल गर्‍यो ।

पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्नुपरेको थियो । त्यहाँ चितवनलाई हराउँदै टोलीले फाइनलमा स्थान सुरक्षित गर्‍यो ।

यसरी सुदूरपश्चिमले लगातार दुई खेल जित्दै लगातार तेस्रोपटक उपाधि भिडन्तसम्मको यात्रा तय गरेको छ ।

एनपीएल इतिहासमा यी दुई टोली हालसम्म ५ पटक आमनेसामने भएका छन् । लुम्बिनीले ३ खेल जित्दा सुदूरले २ खेल जितेको छ । पछिल्ला ३ भेटमा लुम्बिनीले लगातार सुदूरलाई हराएको छ ।

‘पछिल्ला ३ खेल हामीले जितेका छौं तर त्यसभन्दा अगाडि २ खेलमा उनीहरूले पनि जितेका छन् । क्रिकेट हो जे पनि हुनसक्छ । अहिले हामी राम्रो खेलिरहेका छौं । पछिल्ला खेलले भोलिलाई अर्थ राख्दैन, राम्रो खेल्नैपर्छ’ रोहितले भनेका छन् ।

यता दीपेन्द्रले लुम्बिनीको बलिङ लाइनअप राम्रो रहेको र त्यसलाई खेल्नेबारेमा टिममा छलफल भइसकेको बताए ।

  • ५ मंसिर २०८३, शनिबार ०७:०९ प्रकाशित