पोखरा।
पोखरामा नेपाल पर्यटन पत्रकार संघ गठन भएको छ।
हरिप्रसाद बास्तोलाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।
संघको उपाध्यक्षमा गोविन्द सुवेदी र कृष्ण श्रेष्ठ रोजी छन्। त्यस्तै महासचिवमा घनश्याम पाण्डे, सचिवमा एकराज गिरी र समावेशी सचिवमा विजय नेपाली चयन भएका छन्। कोषाध्यक्षमा चन्द्रिका घिमिरे रहेकी छन ।
संघको सदस्यमा पुष्पराज दाहाल, बालकुमारी पौडेल, बिना कुमारी थापा, सरिता गुरुङ, दिनानाथ बराल, राम गुरुङ, राजु गिरी र रामशरण नेपाली रहेका छन ।
दर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यम र पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताए।
नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पत्रकारिताले योगदान पु¥याउन सक्ने उनको भनाइ थियो। उनले हरेक गतिविधिमा सुरक्षालाई पहिलो प्राथमिकता दिनसमेत आग्रह गरे।
संघका अध्यक्ष बास्तोलाले नेपाल पर्यटन पत्रकार संघलाई पत्रकारहरूको साझा संस्थाका रूपमा अघि बढाउने बताए। पर्यटन क्षेत्रको विकासका लागि प्रचारप्रसारसँगै खोजमूलक पत्रकारितालाई प्राथमिकता दिने उनको भनाइ थियो।
सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय गन्तव्य, कला, संस्कृति, प्राकृतिक सम्पदा र स्थानीय पर्यटन व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने काममा संघ केन्द्रित हुने उनको भनाई छ ।
पर्यटन पत्रकारहरूको क्षमता अभिवृद्धि, व्यावसायिक हकहितको संरक्षण र पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने बताए । संघले आगामी दिनमा गर्ने कामबारे पहिलो बैठकपछि सार्वजनिक गर्ने उनको भनाई छ ।
संघका महासचिव घनश्याम पाण्डेले संघ स्थापनाको उद्देश्य पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा पत्रकारिताको भूमिकालाई थप प्रभावकारी बनाउनु रहेको बताए । उनले पर्यटकीय गन्तव्यको पहिचान, खोज तथा प्रचारप्रसार गर्दै पर्यटन क्षेत्रका सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने कामलाई संघले प्राथमिकता दिने बताए।












