अन्तरजिल्ला र विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउनेबारे छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले अन्तरजिल्ला तथा विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानमा सहभागी गराउने विषयमा राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

आज स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बाह्य मतदानसम्बन्धी अवधारणाबारे दलहरूलाई जानकारी गराएको बताए ।

स्थायी ठेगानाभन्दा बाहिर रहेका मतदातालाई पनि मतदानको अवसर प्रदान गर्ने विषयमा आयोगले कानूनी तथा नीतिगत तयारी अघि बढाएको उनले बताए ।

यससम्बन्धी कानुनको मस्यौदामा समेटिएका प्रारम्भिक अवधारणाबारे राजनीतिक दलहरूसँग छलफल गरिएको र दलहरूले समग्रमा सकारात्मक प्रतिक्रिया दिएको बताए ।

उनले भने, ‘उक्त कानुनको अन्तिम रूप संसद्बाट निर्धारण हुने भएकाले अहिले नै प्रस्तावित व्यवस्था जस्ताको तस्तै लागू हुन्छ भन्न सकिने अवस्था छैन। यद्यपि, बाह्य मतदानको व्यवस्था अघि बढाउने विषयमा आयोगले काम गरिरहेको छ ।’

गत निर्वाचनमा करिब ६० प्रतिशत मतदाता मात्रै मतदानमा सहभागी भएको र करिब ४० प्रतिशत मतदाता मतदानबाट बाहिर रहेकाले सहभागिता बढाउन आयोग प्रक्रिया अघि बढाएको बताए ।

आयोगले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने तथा निर्वाचन व्यवस्थापनमा सुधार गर्ने विषयमा पनि राजनीतिक दलहरूसँग छलफल गरेको बताए ।

  • ४ मंसिर २०८३, शुक्रबार १६:२६ प्रकाशित