काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन् । शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
‘निर्वाचन गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ तर त्यो सीमित छ’, सभापति थापाले भने, ‘निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ ।’
सभापति थापाले राजनीतिक दललाई चिन्दिनँ र मान्दिनँ भन्दै गर्दा अरू बेला सरकारको कामकारबाही चले पनि निर्वाचनमा त्यस्तो नचल्ने बताए । उनले निर्वाचनका बारेमा सरकारले दलहरूसँग संवाद गर्नुपर्नेमा जोड दिँदै भने, ‘निर्वाचनबारे संविधानले निर्दिष्ट गरेको व्यवस्था गरेको छ ।’
सभापति थापाले निर्वाचनको खर्च र समयबारे सरकारले नै दलहरूसँग छलफल गर्नुपर्ने र त्यसपछि दलहरूबीच सहमति जुटाउन कुराकानी हुने बताए । त्यस्तै, विदेशमा रहेका नेपालीहरूलाई मतदानका लागि कानुन टुंग्याउन सुझाव दिएको थापाले बताए ।












