कास्कीको रिभानमा प्यारापाइलट उत्पादन स्कुल सञ्चालनमा

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा एरोडाइनामिक प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायी तथा अनुभवी प्यारापाइलट विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीको संयुक्त लगानीमा स्थापना भएको विद्यालयले प्यारापाइलट उत्पादनसँगै माछापुच्छ्रेलाई नयाँ साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

करिब डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरिएको विद्यालयले बिहीबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको हो । प्याराग्लाइडिङ स्कुलको कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्य प्रकाश बरालले बिहीबार एक कार्यक्रमका बिच सुरुवात गराएका हुन् । सञ्चालक विजय गौतमका अनुसार विद्यालयले रिभानस्थित समुद्री सतहबाट एक हजार ६८० मिटर उचाइमा रहेको मैचेडाँडाबाट उडान भर्नेछ भने एक हजार ५० मिटर उचाइमा रहेको मर्दी नदी किनारको बेँसीमा अवतरण गर्नेछ ।

प्याराग्लाइडिङका लागि प्राकृतिक रूपमा उपयुक्त भूगोल र मनोरम दृश्य भएकाले रिभानलाई विद्यालय सञ्चालनका लागि छनोट गरिएको सञ्चालक गौतम बताउँछन् ।

‘विश्वका उत्कृष्ट हिमाल माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलालाई आँखैअगाडि राखेर आकाशमा कावा खान पाइने यो क्षेत्र साँच्चिकै सुन्दर र उत्कृष्ट छ,’ उनले भने, ‘प्याराग्लाइडिङ प्रशिक्षणका लागि आवश्यक प्राकृतिक अनुकूलता यहाँ छ। त्यसैले रिभानलाई रोजेका हौँ।’

विद्यालयले १५ दिने बिगिनर कोर्सदेखि इन्टरमिडिएट, क्रसकन्ट्री तथा टेन्डम उडानअन्तर्गत टी–वान र टी–टु तहसम्मका प्रशिक्षण सञ्चालन गर्नेछ। एकपटकमा छ जनालाई मात्र प्रशिक्षण दिने व्यवस्था मिलाइएको गौतमले बताए।

प्याराग्लाइडिङ प्रशिक्षणलाई व्यवस्थित र व्यावसायिक बनाउँदै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने विद्यालयको लक्ष्य छ।

विद्यालयका सञ्चालकहरू आफैँ पनि प्याराग्लाइडिङ क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन् । विष्णु गौतम र किरण कार्की दाजुभाइ हुन् भने विजय गौतम अन्तर्राष्ट्रिय हवाई खेलकुद क्षेत्रमा अनुभव प्राप्त प्यारापाइलट हुन्। अन्तर्राष्ट्रिय हवाई खेलकुद महासंघ एफएआई र एफआईबीबाट मान्यताप्राप्त पाइलट विजय नेपालले एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका खेलाडीसमेत हुन् ।

विद्यालयका लागि गाउँपालिकाले हाल निःशुल्क रूपमा उडान भर्ने र अवतरण गर्ने स्थल उपलब्ध गराएको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारले ती स्थल सम्याउन सहयोग गरेको छ ।

बिहीबार आयोजित उद्घाटन समारोहमा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले प्यारापाइलट विजय दाहाललाई ग्लाइडर हस्तान्तरण गरेर विद्यालयको उद्घाटन गरेका थिए। उद्घाटनपछि प्यारापाइलट गौतमले उडानसमेत भरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बरालले पोखराको प्याराग्लाइडिङको मुख्य केन्द्रका रूपमा स्थापित सराङकोटको विकल्पका रूपमा रिभान विकास हुन सक्ने विश्वास व्यक्त गरे।

‘जसरी प्याराग्लाइडिङले पोखराको समृद्धिमा योगदान पुर्‍याइरहेको छ, त्यसरी नै यसले माछापुच्छ्रेको समृद्धिमा पनि टेवा पुर्‍याउनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्याराग्लाइडिङ स्कुल सञ्चालनले गाउँपालिकाको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। माछापुच्छ्रे–८ का वडाध्यक्ष राम गुरुङले विद्यालयलाई यस क्षेत्रको विकासको ‘गेम चेन्जर’का रूपमा चित्रण गरे।

स्थानीय समाजसेवी यामबहादुर गुरुङले प्याराग्लाइडिङ स्कुल सञ्चालनसँगै पर्यटक आगमन र आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे। यसले गाउँ छाडेर अन्यत्र पुगेका रिभानवासीलाई समेत गाउँ फर्किएर उद्यम तथा व्यवसाय गर्ने वातावरण निर्माण गर्ने उनको भनाइ थियो ।

विद्यालयका सञ्चालक विष्णु गौतमले स्थानीय समुदायसँग सहकार्य गर्दै रिभानलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

  • ३ मंसिर २०८३, बिहीबार २०:२१ प्रकाशित