आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष बादल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष हुने बताएका छन् ।

पार्टीले काठमाडौंमा आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि संघर्षको विकल्प नभएको बताए ।

‘विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्षका रूपमा रहेको थियो । आउने चुनाव पनि यिनै दुई पक्षबीचको शक्ति संघर्ष हुने निश्चित छ,’ उनले भने ।

गत निर्वाचनको परिणाम र त्यसको पुनरावृत्ति हुने वा त्यसमा क्रमभंग हुने भन्ने विषय अहिलेको मुख्य राजनीतिक प्रश्न भएको थापाले बताए ।

आगामी निर्वाचन सामान्य नहुने भन्दै थापाले निर्वाचनमा विजय हासिल गर्न पार्टीभित्रको एकता सुदृढ गर्नुपर्नेमा जोड दिए । चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै उनले ‘आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ’ भन्ने उक्तिलाई आत्मसात् गर्नुपर्ने धारणा राखे ।

गत निर्वाचनमा एमालेले आफ्ना कमजोरी पहिचान गर्न नसकेको, प्रमुख प्रतिद्वन्द्वी चिन्न नसकेको र प्रतिद्वन्द्वीविरुद्ध आपसी सहकार्य गर्न नसकेको थापाले बताए ।

उनले पछिल्लो समय भूराजनीतिक शक्तिहरूबीचको संघर्ष तीव्र बन्दै गएको, लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढेको र सरकारप्रति जनताको आक्रोश चुलिँदै गएको दाबी गरे । ‘पछिल्ला घटनाक्रमले संसदीय, सडक तथा कानुनी संघर्षमा विजयको संकेत दिइरहेका छन्,’ उनले भने ।

आगामी निर्वाचनमा सफलता हासिल गर्न जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्ने, प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्नुपर्ने र नेतृत्वको वरिपरि एकताबद्ध हुनुपर्ने उनले बताए ।

आगामी वर्ष निर्वाचन वर्ष भएकाले स्थानीय तह, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुट्नुपर्ने उनको भनाइ थियो । त्यसका लागि गत फागुन २१ गते सम्पन्न निर्वाचनको पार्टीले गरेको समीक्षालाई आधार बनाएर सही चुनावी रणनीति तय गर्नुपर्ने उनले बताए ।

भेलालाई पार्टीको नयाँ एकता र नयाँ संकल्पको अभिव्यक्तिका रूपमा व्याख्या गर्दै थापाले केन्द्रीय कमिटीले तय गरेका ‘दुई कार्यभार र १५ काम’ पूरा गर्न राष्ट्रिय भेला आयोजना गरिएको बताए ।

थापाले केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न पार्टी पुनर्निर्माण गर्ने, राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक आन्दोलनको तयारी गर्ने तथा आगामी निर्वाचनको पूर्वतयारी गर्ने निर्णय गरेको जानकारी दिए ।

  • ३ मंसिर २०८३, बिहीबार ११:५७ प्रकाशित