काठमाडौं ।
नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने र देशको विकास तथा समृद्धिका कामलाई अगाडि बढाउने बताएका छन् । बुधबार काठमाडौंमा सुरु राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षालाई अझ स्पष्ट दृष्टिकोण र दृढताका साथ अघि बढाउने समेत उल्लेख गरे ।
‘विकासका काम जुन अगाडि सारेको छ, नेकपा एमालेले, ती विकासका कामहरूलाई फेरि अगाडि बढाउँछ। समृद्ध नेपाल सुखी नेपालीको सपना देख्न छोड्दैन, झन् प्रस्ट ढङ्गले देख्छ, झन् दृढताका साथ एमाले अगाडि बढ्छ,’ उनले भने।
‘कतिले अब मजाकको विषय बनाउलान्, फेसबुकमा लेख्लान् । अलिक दिन फेसबुकमा लेख्दै गर, हेर्दाहेर्दै नेकपा एमाले सरकारमा जान्छ,’ ओलीले भने।
सामाजिक सञ्जालमा एमालेको राजनीतिक भविष्यलाई लिएर भइरहेको टिप्पणीप्रति कटाक्ष गर्दै ओलीले केही समय फेसबुकमा आलोचना गर्दै बस्न आग्रह गरे। यसअघि सरकारबाट हटाइँदा पनि आफूहरूले संवैधानिक बाटोबाटै पुनः सत्तामा फर्किएको उल्लेख गर्दै फेरि फर्किने दाबी गरे।
यसअघि पनि घेराबन्दी गर्दा सिंहदरबार पस्ने अभिव्यक्ति दिएको स्मरण गर्दै ओलीले भने, फेरि पनि म भन्न चाहन्छु, नेकपा एमाले यो देशको भविष्य हो । यो देशको राष्ट्रियताको रक्षा गर्ने रक्षक हो। यो देशको विकास गर्ने नायक हो। त्यसकारण नेकपा एमाले त्यसैगरी अगाडि बढ्नेछ।’












