पोखरा ।
पोखरा –४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा काठमाडौंस्थित निसर्ग बाटिका विद्यालयका विद्यार्थीहरूले अवलोकन भ्रमण गरेका छन् ।
संस्कृति आदानप्रदान तथा आपसी सिकाइको उद्देश्यले मंगलबार निसर्ग बाटिकाका विद्यार्थी तथा शिक्षकको टोलीले कुमुदिनी होम्सको भ्रमण गरेको हो । दुवै विद्यालयले विद्यार्थीबीच सांस्कृतिक सम्बन्ध विस्तार र अनुभव आदानप्रदान गर्ने उद्देश्यले हरेक वर्ष यस्तो भ्रमण कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
भ्रमण टोलीको स्वागतमा कुमुदिनी होम्सले औपचारिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थी तथा शिक्षकको टोलीलाई स्वागत गरेका थिए ।
कार्यक्रममा कक्षा ९ की छात्रा प्रतिष्ठा केसीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । त्यस्तै, कक्षा १० का आभना सिंह विश्वकर्मा र दिव्या आचार्यले विद्यालयको परिचयसँगै पोखराका विभिन्न सांस्कृतिक तथा पर्यटकीय पक्षबारे जानकारी गराएका थिए ।
कार्यक्रममा दुवै विद्यालयका विद्यार्थीहरूले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । यस्ता कार्यक्रमले विद्यार्थीबीच आपसी सद्भाव, सांस्कृतिक बुझाइ र सिकाइको दायरा फराकिलो बनाउने अपेक्षा गरिएको छ ।
कुमुदिनी होम्सका सहप्राचार्य मुकेशकुमार अधिकारीले निसर्ग बाटिका विद्यालयका शिक्षक निशा बस्नेतको नेतृत्वमा आएको टोलीलाई विद्यालय परिसरमा रहेका सामाजिक सङ्ग्रहालय, कला दीर्घा, अत्याधुनिक पुस्तकालय तथा चिडियाघरसहितका विभिन्न शैक्षिक तथा सिर्जनात्मक क्षेत्रको अवलोकन गराउँदै तिनको महत्वबारे जानकारी गराएका थिए ।
भ्रमणका क्रममा विद्यार्थीहरूले विद्यालयको शैक्षिक वातावरण, शैक्षिक संरचना तथा अतिरिक्त क्रियाकलापबारे जानकारी लिएका थिए। कार्यक्रमबारे शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिएका हुन् ।













