एपीएल : सविक विजेता लुम्बिनी सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

साविक विजेता लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सलाई हराउँदै तेस्रो संस्करणको नेपाल (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार पहिलो क्वालिफायरमा सदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लगातार दोस्रो सिजन फाइनल पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा श्रीलंकाली ब्याटर निरोशन डिक्वेलाले उत्कृष्ट ब्याटिङ गरे । उनले ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए ।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले पहिलो ओभरमै डार्सी सर्टलाई गुमाएको थियो । आशिफ शेख ८ बलमा ४ रन बनाएर तेस्रो ओभरमा हेमन्त धामीको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । लुम्बिनीले ३.२ ओभरमा २४ रन जोड्दा दुई विकेट गुमाएको थियो ।

त्यसपछि डिक्वेला र कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरे । रोहितले २८ बलमा २१ रन बनाए । उनी १०औँ ओभरमा थारिन्दु रत्नायकेको बलमा अनिल खरेलबाट क्याच आउट भए ।

सन्दीप जोरा र डिक्वेलाले चौथो विकेटका लागि २३ रन जोडे । जोरा १३ बलमा ८ रन बनाएर १४औँ ओभरमा आउट भए। उनलाई पनि रत्नायकेले नै आउट गरेका थिए ।

त्यसपछि डिक्वेला र दिलीप नाथले अविजित २३ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए। नाथले १२ बलमा १० रन बनाए। डिक्वेलाले ३२ बलमा अर्धशतक पूरा गरेका थिए।

खेलमा सुदूरपश्चिमका अभिनास बोहारले दुई वटा महत्वपूर्ण क्याच मिस गरेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। इशान पाण्डेले ३३ बलमा २७ रन जोडे।

सुरुवातमै धर्मराएको सुदूरपश्चिमले पहिलो ओभरको पहिलो बलमै जर्ज मुन्सेलाई गुमाएको थियो। रुबेन ट्रम्पलम्यानको बलमा मुन्से खाता नखोली आउट भए । त्यसपछि विनोद भण्डारी ३ र थानुका दबारे ३ रनमा पेभेलियन फर्किए ।

सुदूरपश्चिमले ३.१ ओभरमा ८ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । त्यसपछि दीपेन्द्र र इशानले चौथो विकेटका लागि ५६ बलमा ६४ रनको महत्वपूर्ण साझेदारी गरे । यही साझेदारीले सुदूरपश्चिमलाई सय रनको आँकडा पार गराएको थियो ।

इशान २७ रन बनाएर १५औँ ओभरमा रनआउट भए । त्यसपछि थारिन्दु रत्नायके १ र आरिफ शेख ४ रनमा आउट भए । आरिफको विकेट खस्दा सुदूरपश्चिमको स्कोर १७.५ ओभरमा ९४ रन थियो ।

दीपेन्द्रले एक छेउबाट इनिङ्स सम्हाल्दै ४५ बलमा अर्धशतक पूरा गरे । तर, २०औँ ओभरको दोस्रो बलमा उनी शेर मल्लको बलमा डार्सी सर्टबाट क्याच आउट भए । दीपेन्द्रको विकेट १०१ रनमा खसेको थियो । अन्तिम बलमा स्कट कुगेलेइन पनि रनआउट भए । उनले ५ बलमा ७ रन बनाए। अनिल खरेल २ रनमा अविजित रहे ।

बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २ विकेट लिए । ट्रम्पलम्यानले ४ ओभरमा १४ रन खर्चिए भने मल्लले ४ ओभरमा २७ रन दिए। अभिशेष गौतम र किशोर महतोले समान १ विकेट हात पारे ।

लुम्बिनीले अब उपाधिका लागि फाइनल खेल्नेछ । सुदूरपश्चिमसँग भने फाइनल पुग्ने अर्को अवसर बाँकी छ । सुदूरपश्चिमले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । त्यसअघि बुधबार एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन् । उक्त खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

  • १ मंसिर २०८३, मंगलवार २१:०८ प्रकाशित