पोखरा ।
पुनः प्रयोग र पुनर्चक्रणमार्फत हरित उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित आरयू फेस्टको तयारी पूरा भएको छ । यही २ र ३ मंसिरमा आयोजना हुने फेस्टको तयारी पूरा भएको पोखरा महानगरपालिकाले मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएको हो । फोहोरलाई आम्दानी र रोजगारीको स्रोत बनाउने लक्ष्यसहित पोखरामा ‘आरयू फेस्ट २०२६’ आयोजना हुँदै छ ।
‘रि–थिङ्क २०२६ : फ्रम वेस्ट टु वर्थ’ अर्थात् ‘फोहोरबाट मूल्य सिर्जना’ नारासहित आयोजना हुन लागेको यो फेस्ट पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा आयोजना हुन लागेको हो ।
महानगरपालिकामा सञ्चालित पुनः प्रयोग तथा पुनर्चक्रणमार्फत हरित रोजगारी सिर्जना परियोजना (जीसीआरयू) अन्तर्गत फेस्ट आयोजना गर्न लागिएको हो । फोहोर व्यवस्थापनलाई वातावरण संरक्षणमा मात्र सीमित नराखी उद्यमशीलता, बजार र रोजगारीसँग जोड्ने यसको उद्देश्य छ ।
फेस्टले पुनः प्रयोग तथा पुनर्चक्रणमा संलग्न उद्यमी, पर्यटन क्षेत्र, निजी कम्पनी र सर्वसाधारणबीच सहकार्य विस्तार गर्ने लक्ष्य राखेको छ। विशेषगरी पुनः प्रयोग र पुनर्चक्रणमा आधारित उद्यमका उत्पादनलाई बजारसम्म पुर्याउने र बिक्रीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।
फेस्टमा पुनः प्रयोग तथा पुनर्चक्रणमा आधारित उद्यमका उत्पादन र नवीन अभ्यास प्रदर्शन गरिनेछ। दिगो फोहोर व्यवस्थापनका उपाय, चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा समेत जनचेतना अभिवृद्धि गरिने आचार्यले जानकारी दिए ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले फेस्ट विद्यार्थीका लागि सिकाइ र अनुभव आदानप्रदानको अवसरसमेत हुने बताए । उनका अनुसार पोखरामा ‘ग्रीन भेन्चर जोन’ अवधारणा प्रवर्द्धन गर्दै पुनः प्रयोग तथा पुनर्चक्रणमा संलग्न उद्यमी र नवप्रवर्तनशील विद्यार्थीलाई लगानी तथा व्यवसाय विस्तारका अवसरसँग जोड्ने योजना छ।
फेस्टबाट पुनः प्रयोग तथा पुनर्चक्रणमा आधारित उद्यमको पहिचान र बजार पहुँच विस्तार हुनुका साथै निजी क्षेत्र, पर्यटन व्यवसायी र उद्यमीबीच सहकार्य सुदृढ हुने अपेक्षा गरिएको छ। यसले चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका उपायबारे नागरिकस्तरमा बुझाइ बढाउने विश्वास आयोजकको छ।
परियोजनाअन्तर्गत सन् २०२५ मा गरिएको प्रतिबद्धताअनुसार तीन हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । विस्तारित उत्पादकको दायित्व (ईपीआर) सम्बन्धी नियामकीय अनुगमन र संवादलाई पनि परियोजनाले महत्त्व दिएको छ ।
पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने फेस्टमा विभिन्न स्टल राखिनेछन् । ती स्टलमा आरयू उद्यमीले उत्पादन गरेका सामग्री प्रदर्शन गरिनेछ । फेस्टलाई पोखराको वार्षिक कार्यक्रमका रूपमा स्थापित गर्दै हरित उद्यमशीलता, वातावरण संरक्षण र दिगो आर्थिक विकासको साझा मञ्च बनाउने आयोजकको लक्ष्य छ ।













