काठमाडौं।
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका हुन्।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि हालसम्म कारबाही नभएको भन्दै महासंघले आन्दोलन घोषणा गरेको हो।
त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको कारणका रूपमा उल्लेख गरेको छ।
महासंघले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमअनुसार २०८३ मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ। मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाइनेछ।
त्यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गरिनेछ। मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
आन्दोलनको थप सशक्त कार्यक्रमअन्तर्गत मंसिर ९ गते देशभरका जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भेला भई ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने महासंघले जनाएको छ।
महासंघले आफ्ना माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।














