२१ किलो सुन प्रकरण : ३ चिनियाँ पुर्पक्षका लागि कारागार चलान

केन्द्रभाग मिडिया

काठमाडौं ।

साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सुनसँगै बूढानीलकण्ठबाट पक्राउ परेका चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन कारागार चलान भएका हुन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई भन्सार ऐन अनुसारको कसुरमा कारबाही गर्न भन्दै विभानस्थल भन्सार कार्यालय पठाइएको थियो ।

तीनै जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश आएपछि कारागार पठाइएको एसएसपी सन्तोष खड्काले बताए ।

२२ असोजमा एसएसपी खड्काकै टोलीले बूढानीलकण्ठको माथिल्लो भंगालबाट २१ किलो ७५०.६८ ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख, ७ हजार ३२० रुपैयाँ हुन आउँछ ।

  • १ मंसिर २०८३, मंगलवार १५:५५ प्रकाशित