पोखरा ।
प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि छलफलमा रहेका महत्वपूर्ण द्विपक्षीय मुद्दा टुङ्ग्याउने गरी तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाह ६ मंसिरको दिउँसो नेपाल वायुसेवा निगमको उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भ्रमणको पहिलो दिन भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
दिल्लीस्थित नेपाली राजदूतावासले सोही दिन प्रधानमन्त्री शाहको सम्मानमा रात्रिभोज आयोजना गर्नेछ। उनको स्वागतका लागि भारतीय केन्द्रीय सरकारका मन्त्री विमानस्थल पुग्ने तयारी छ ।
भ्रमणको दोस्रो दिन ७ मंसिर गते राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा गार्ड अफ अनर प्रदान गरिनेछ । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी हुनेछन् । त्यसपछि शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
त्यसैदिन भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री शाहले समकक्षी मोदीसँग द्विपक्षीय छलफल गर्नेछन् । मोदीले हैदरावाद हाउसमा शाहको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रमसमेत तय भएको छ ।
कूटनीतिक स्रोतका अनुसार दुई प्रधानमन्त्रीबीच सुरुमा करिब आधा घण्टा सीमित प्रतिनिधिसहित छलफल हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीसहित १५–१५ सदस्यीय प्रतिनिधिमण्डलबीच औपचारिक द्विपक्षीय वार्ता हुनेछ । भ्रमणको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको उक्त बैठकमा नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल तथा सम्झौता हुन सक्ने अपेक्षा गरिएको छ ।
भेटवार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। यद्यपि पत्रकारहरूसँग प्रश्नोत्तर भने राखिने छैन। भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि भारतीय विदेश सचिव विक्रम मिस्रीले भ्रमणबारे सञ्चारमाध्यमलाई जानकारी गराउने कार्यक्रम छ।
भ्रमणका क्रममा आर्थिक सहयोग प्याकेज, हवाई सम्पर्क विस्तारलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । नेपालमा भारतीय सहयोगमा निर्माण भएका केही आयोजनाको दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारीसमेत छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा रहने १५ जना अधिकारीको आवास, खानपान र भ्रमण खर्च भारत सरकारले बेहोर्ने तथा अन्य सदस्यको खर्च नेपाल सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह ७ मंसिरको दिउँसो ४ः५० बजे नेपाल वायुसेवा निगमको उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।













