सुक्खा पहिरो खस्दा घाइते भएका डोल्पाका कार्यवाहक वडाध्यक्षको निधन

केन्द्रभाग मिडिया

डोल्पा ।

सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा घाइते भएका डोल्पाको काइके गाउँपालिका–७ का कार्यवाहक वडाध्यक्ष भीमबहादुर बूढाको उपचारका क्रममा निधन भएको छ ।

गत बिहीबार दिउँसो करिब ४ बजे काइके गाउँपालिका–७ लावनमा सडक निर्माण भइरहेको स्थानमा माथिबाट एक्कासि ढुङ्गासहितको सुक्खा पहिरो खस्दा ३४ वर्षीय बूढा गम्भीर घाइते भएका थिए ।

पहिरोमा परी घाइते भएका बूढालाई स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार नेपालगन्ज लगिएको थियो ।

नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा शनिबार उनको निधन भएको हो ।

बूढा २०७९ सालको स्थानीय तह निर्वाचनमा काइके गाउँपालिका–७ को वडा सदस्यमा निर्वाचित भएका थिए । उक्त वडाका वडाध्यक्ष काम विशेषले जिल्ला बाहिर रहेका कारण केही समयदेखि उनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

  • २९ कार्तिक २०८३, आईतवार ११:०७ प्रकाशित