चीन जाने सांसदहरुलाई प्रधानमन्त्रीले भने,‘भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी राष्ट्रिय हितमा केन्द्रित गर्नू’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् ।

नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउँदै आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका सदस्य तथा पार्टीका नेताहरूले शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले दुई देशबीचको विशिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउने गरी भ्रमणलाई फलदायी बनाउन सुझाव दिएको बताए ।

‘भ्रमणलाई प्रभावकारी बनाउन र दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक निर्देशन लिन प्रधानमन्त्रीसँग छलफल भएको हो । प्रधानमन्त्रीले नेपाल र चीनबीचको विशिष्ट सम्बन्धलाई अझ मजबुत बनाउने तथा भ्रमणलाई नेपालको राष्ट्रिय हितमा केन्द्रित गर्न निर्देशन दिनुभएको छ,’ बुर्लाकोटीले भने ।

उनका अनुसार, प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा नेपालको हितलाई केन्द्रमा राखेर अध्ययन, छलफल र अनुभव आदानप्रदान गर्न निर्देशन दिएका छन् ।

चीनबाट नेपालले प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन तथा कृषिको आधुनिकीकरणलगायतका क्षेत्रमा महत्वपूर्ण लाभ लिनसक्ने भएकाले यी विषयमा विशेष ध्यान दिन प्रधानमन्त्रीले आग्रह गरेको बुर्लाकोटीले जानकारी दिए ।

चीनबाट लिन सकिने सम्भावित आर्थिक तथा प्राविधिक लाभका विषयमा गम्भीर अध्ययन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको उनले बताए ।

 रास्वपाको उक्त टोली नोभेम्बर १५ देखि २६ सम्म चीनमा रहनेछ । भ्रमण अवधिमा दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, कृषि आधुनिकीकरण र पर्यटनलगायतका विषयमा छलफल तथा अध्ययन हुने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा नेपाल–चीन सीमा सम्बन्धी विषयमा भने छलफल नहुने बुर्लाकोटीले स्पष्ट पारे ।चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपा सांसदहरूको प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्नेछ ।

  • २७ कार्तिक २०८३, शुक्रबार १४:१५ प्रकाशित