देउवा समुहको गण्डकी प्रदेशको अधिवेशन मंसिर ५ देखि पोखरामा

केन्द्रभाग मिडिया

नेपाली कांग्रेसको देउवा समुहले मंसिर ५ र ६ गते गण्डकी प्रदेशको अधिवेशन पोखरामा गर्ने भएको छ ।

पोखरा सभागृहमा ५ र ६ गते प्रदेश अधिवेशन गर्ने गरी तयारी तीव्र पारिएको गण्डकीका उपसभापति मेखलाल श्रेष्ठले जानकारी दिए । अधिवेशनको उद्घाटन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट करिब १ हजार ६ सय प्रतिनिधिको उपस्थिति रहने अपेक्षा गरिएको छ । प्रदेशका ३६ वटा प्रदेश निर्वाचन क्षेत्रबाट प्रदेश सभापतिसहित प्रदेश प्रतिनिधिहरू सहभागी हुनेछन् ।

त्यस्तै, १८ वटा संघीय निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । प्रदेशका ८५ वटा पालिकाका सभापति, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाबाट प्रतिनिधित्व गर्नेहरू पनि अधिवेशनमा सहभागी हुनेछन् । यसैगरी प्रदेश सांसद तथा विभिन्न पालिकाका प्रमुख र उपप्रमुखको समेत सहभागिता रहनेछ ।

देउवा समुहले हालसम्म ४३ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाण्डौंमा १५औँ महाधिवेशन गर्ने घोषणा गरेको समुहले वडा, पालिका, क्षेत्रीय अधिवेशन सम्पन्न गरी जिल्ला अधिवेशनलाई अन्तिम चरणमा पुर्याएको छ ।

६ जिल्लामा अधिवेशन उद्घाटन भइसकेको समुहले जनाएको छ ।केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता एगराज पोखरेलका अनुसार १सय ३४ वटा निर्वाचन क्षेत्रमा समेत अधिवेशन सम्पन्न भइसकेको छ ।

  • २७ कार्तिक २०८३, शुक्रबार १३:३४ प्रकाशित