धादिङमा दूध ट्याङ्करको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

केन्द्रभाग मिडिया

dead

काठमाडौं ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

हेटौँडाबाट काठमाडौं जाँदै गरेको बाप्र ०१-००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ का ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनापछि प्रहरीले ट्याङ्कर र चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–४ का ३३ वर्षीय मदनबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि मृतकको शव घटनास्थलमै रहेकाले राजमार्गको एकतर्फी यातायात अवरुद्ध भएको थियो । प्रहरीले विभिन्न प्रहरी कार्यालयबाट ३१ जना सुरक्षाकर्मी परिचालन गरी घटनास्थलमा सुरक्षा दिएको थियो ।

प्रहरीका अनुसार राति ११ बजेर १५ मिनेटमा शव घटनास्थलबाट उठाएपछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालन भएको छ ।

  • २५ कार्तिक २०८३, बुधबार ०९:५४ प्रकाशित