सातौं संस्करणको ‘स्वन्ती नखः महोत्सव’ २१ कात्तिकमा हुने

केन्द्रभाग मिडिया

पोखरा ।
नेवारी कला, संस्कृति र मौलिक परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्ने उद्देश्यले पोखरामा ‘सातौँ स्वन्ती नखः महोत्सव–२०८३’ आयोजना हुने भएको छ ।

नेवास् मिसा पुचः कास्की र पोखरा महानगरपालिका–९ को विशेष सहयोग तथा चिप्लेढुंगास्थित नेवास् मिसा पुचःको आयोजनामा यही २१ कात्तिकको शनिबार पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा महोत्सव हुने भएको हो ।

नेवारी समुदायको मौलिक पर्व, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्यसहित हरेक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यसपटक पनि विभिन्न सांस्कृतिक तथा परम्परागत गतिविधि समेटिएका छन् ।

महोत्सवको मुख्य आकर्षण सयपत्री फूलको माला बुन्ने प्रतियोगिता रहने आयोजकले जनाएको छ । पछिल्लो समय चाडपर्वमा प्लास्टिकका तथा आयातित मालाको प्रयोग बढ्दै गएको सन्दर्भमा स्थानीय फूलको प्रयोगलाई प्रोत्साहन गर्दै मौलिक परम्पराको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा उत्कृष्ट हुने पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतिभालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यस्तै, महोत्सवमा नेवारी समुदायको परम्परागत भाइटीकाको विधि प्रदर्शन गरिनेछ । नयाँ पुस्तालाई दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध, भाइटीकाको सांस्कृतिक महत्त्व र पूजाविधिबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यले यस्तो कार्यक्रम राखिएको नेवास् मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले जानकारी दिइन् ।

महोत्सवमा नेवारी परिवारले तयार पारेका परम्परागत परिकारका स्टलसमेत रहनेछन् । त्यहाँ योमरी, समयबजी, चटामरी, बारा, सेलरोटीलगायतका मौलिक नेवारी परिकारको स्वाद लिन पाइनेछ । यसले नेवारी खानपानको मौलिकता र परम्परागत पाककलालाई समेत प्रवर्द्धन गर्ने जनाइएको छ । महोत्सवमा भाइटीकाका लागि चािहने सामानका स्टलहरु समेत रहने छन् ।

महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न कलाकारमार्फत सांस्कृतिक प्रस्तुति पनि राखिनेछ । आयोजकका अनुसार यस्ता कार्यक्रमले नेवारी समुदायको मौलिक पहिचान, कला, संस्कृति तथा रीतिरिवाजको संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्‍याउनेछ ।

नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले महोत्सवले नेवार समुदायको संस्कार र संस्कृतिको संरक्षण गर्नेमात्र नभएर आर्थिक रुपमा समेत सबल बनाउन मद्दत पुग्ने  बताए ।

नेवारी संस्कृति र परम्परा अनुरुपका विविध जात्राहरु लोप हुन लागेको अवस्थामा नयाँ पुस्तामा जागरण ल्याउन यस्ता कार्यक्रम उपयोगी हुने उनले उल्लेख गरे । पछिल्ला दिनमा एक समुदायको संस्कृतिको अर्को समुदायले अपनत्व लिने क्रम समेत बढेको चर्चा गरेका उनले यस्ता विषयले समाजमा एकता र सद्भाव बढ्दै गएको बताए ।

  • १९ कार्तिक २०८३, बिहीबार १०:२४ प्रकाशित