गण्डकीका तीन जिल्लामा तीन घण्टामा ३४१८ सवारी चालकलाई सम्झाइयो

१०० जना सवारी चालक परे कारबाहीमा, गण्डकी ट्राफिक प्रमुख काफ्ले आँफै फिल्डमा खटे

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका तीन मुख्य सवारी चाप हुने सहरी क्षेत्र र तीन वटा राजमार्गलाई लक्षित गरेर दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । धेरै सवारी चाप रहेको प्रदेशको राजधानी कास्की पोखरा, तनहुँको दमौली र नवलपुरका विभिन्न क्षेत्र गरेर पृथ्वी राजमार्ग, पोखरा वागलुङ र पूर्वपश्चिम राजमार्गमा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि सक्रियता बढाएको हो ।

तीन वटा जिल्लामा गरेर सोमबार दिउँसो ३ देखि ६ बजेको अबिधिमा तीन हजार चार सय १८ सवारी चालकलाई सम्झाई बुझाई गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्ले जानकारी दिए । उनका अनुसार सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी विशेष अभियानअन्तर्गत तीन जिल्लालाई फोकस गरिएको र अन्य जिल्लामा समेत अभियानलाई अगाडि बढाइने छ । प्रहरी उपरीक्षक काफ्ले आँफै सडक प्रयोगकर्तालाई सम्झाई बुझाईका लागि फिल्डमा खटेका थिए ।

अभियानअन्तर्गत सवारी चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियमबारे सम्झाइबुझाइ गर्नुका साथै विभिन्न स्थानमा सवारी जाँचसमेत गरिएको छ । चेकजाँचका क्रममा लापसे र मापसे गरेर गम्भिर गल्ति गर्ने एक सय चाललाई कारबाही गरिएको छ । चाडबाडमा दुर्घटना बढेको र यसलाई न्युनिकरण गर्न अभियान चलाइएको उपरीक्षक काफलेले बताए । ‘चाडबाडका बेला सवारी चालकहरुले लापरबाही गर्ने र दुर्घटना समेत बढ्ने गरेको पाइएपछि विशेष अभियान चलाइएको हो । यो अभियान विशेषगरी प्रदेश राजधानी पोखरा, तनहुँ र नवलपुर जहाँ सवारी चाप धेरै छ, त्यहाँ धेरै प्राथमिकतामा राखेर सम्झाई बुझाई गर्ने कार्यलाई अगाडि बढाएका हौं । विगतमा पनि यस्ता अभियान नचलेका होइनन् । यसपाली अझ सम्झाई बुझाइलाई नै फोकस गरेका छौंं’ उनले भने ।

अभियानका क्रममा कास्की, नवलपुर र तनहुँका आठ स्थानमा ट्राफिक प्रहरी र जनपद प्रहरी गरी ७० जना प्रहरी परिचालन गरिएको थियो । प्रहरी टोलीले मोटरसाइकल तथा स्कुटर, हाइस, बसलगायतका सवारीसाधनका चालक र यात्रुलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

मोटरसाइकल चालक बढी लक्षित

अभियानका क्रममा सबैभन्दा धेरै दुईपांग्रे मोटरसाइकल तथा स्कुटर चालकलाई सम्झाइबुझाइ गरिएको छ । कुल २ हजार ६०३ मोटरसाइकल तथा स्कुटर, १ सय ७२ बस र १३३ वटा हाइसका चालकलाई सम्झाई बुझाई गरिएको छ । ३ सय ३८ अन्य सवारीसाधनका चालक तथा सडक प्रयोगकर्तालाई सचेत गराइएको छ ।

ओभरस्पिडदेखि मापसेसम्म निगरानी

विशेष अभियानमा प्रहरीले तीव्र गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, लेन अनुशासन पालना नगर्ने, जेब्राक्रसिङको गलत प्रयोग गर्ने तथा जथाभावी यू–टर्न लिने प्रवृत्तिलाई नियन्त्रण गर्ने विषयमा जोड दिएको थियो ।  त्यस्तै, मादक पदार्थ सेवन तथा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग गर्ने र ट्राफिक नियमको पालना गर्ने विषयमा चालक तथा यात्रुलाई सम्झाइबुझाइ गरिएको ट्राफिक प्रमुख काफ्लेले बताए ।

विशेष अभियानलाई केवल जरिवाना र कारबाहीमा सीमित नराखी चालकको व्यवहार परिवर्तन र सडक सुरक्षाप्रतिको जिम्मेवारीबोध विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको काफ्लेले बताए।  ट्राफिक नियम उल्लङ्घन गरेपछि कारबाही गर्नेभन्दा उल्लङ्घन हुन नदिनु र दुर्घटना हुनुअघि नै चालकलाई सचेत बनाउनु अभियानको मुख्य उद्देश्य रहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण प्रहरीको एक्लो प्रयासबाट मात्रै सम्भव छैन । यसका लागि चालक, सहचालक, यात्रु, पैदलयात्री, यातायात व्यवसायी र सरोकारवाला सबै जिम्मेवार हुनुपर्छ । ‘सुरक्षित सडक, सुरक्षित गण्डकी, स्मार्ट ट्राफिक व्यवस्थापन, हाम्रो साझा जिम्मेवारी’ भन्ने भावनाका साथ सञ्चालन गरिएको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

 

  • १६ कार्तिक २०८३, सोमबार २०:०९ प्रकाशित