काठमाडौं ।
सोमबार बिहानबाट सुरु भएको सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) अहिलेसम्म चलिरहेको छ । पेसी सूची प्रकाशित भए पनि न्यायाधीशहरू इजलासमा नगई निरन्तर फूलकोर्टमा छलफल गरिरहेका हुन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार, कम्तिमा पनि खाजा खाने समयसम्म फूलकोर्ट लम्बिने सम्भावना छ । त्यसपछि मात्रै न्यायाधीशहरू इजलासमा जानेछन् ।
प्रधानन्यायाधीश डा.मनोज कुमार शर्मा र न्यायाधीश हरि फूयालको ह्वाट्सएप म्यासेज र अरु विवरण सार्वजनिक भएपछि सर्वोच्चको फूलकोर्टमा प्रश्न उठेको थियो । त्यसपछि प्रधानन्यायाधीश डा. शर्माले समयसामयिक विषयमा छलफल गर्न सोमबार बिहान फूलकोर्ट डाकेका थिए ।
दुई थरी म्यासेज सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि महाभियोगको प्रस्तावका बारेमा छलफल गरेको थियो । रास्वपाले त्यसबारे निर्णय गर्ने जिम्मेवारी संसदिय दललाई दिइसकेको छ ।












