पोखरा ।
मोटरसाइकल रेसिङमा रुचि राख्ने राइडरलाई लक्षित गर्दै आगामी शनिबार पोखरामा ‘टीभीएस अपाचे रेसिङ एक्सपेरियन्स जीपी क्वालिफायर’ आयोजना हुने भएको छ । अक्टोबर ३१ अर्थात् कात्तिक १४ गते पोखरा–पाल्पाटनस्थित पञ्चरत्न ड्राइभिङ स्कुलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
सात देशका २० सहरमा सञ्चालन हुने यस प्रतियोगिताले उत्कृष्ट राइडर छनोट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्नेछ । प्रतियोगितामार्फत स्थानीय राइडरले आफ्नो क्षमता प्रदर्शन गर्नुका साथै व्यावसायिक मोटरसाइकल रेसिङसम्बन्धी सीप र अनुभव हासिल गर्न सक्नेछन् ।
कार्यक्रममा सहभागी राइडरले प्रमाणित रेसिङ प्रशिक्षकबाट रेसिङका आधारभूत तथा आवश्यक सीपसम्बन्धी व्यावहारिक प्रशिक्षण प्राप्त गर्नेछन् । प्रशिक्षणपछि उनीहरूले ट्र्याकमा आफ्नो गति, सीप र प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन् ।
प्रतियोगिता १६० सीसी, २०० सीसी र ३१० सीसी गरी तीन विधामा सञ्चालन हुनेछ । छनोट चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने राइडरहरू काठमाडौंमा आयोजना हुने राष्ट्रिय फाइनलका लागि चयन हुनेछन् । राष्ट्रिय फाइनलमा सफल हुने राइडरले भारतको मद्रास इन्टरनेसनल सर्किटमा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन राइडरले एक हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । तर, कार्यक्रमस्थलमा उपस्थित भई चेक–इन गरेपछि उक्त रकम पूर्ण रूपमा फिर्ता गरिनेछ । सहभागी राइडरलाई हेल्मेट, राइडिङ ज्याकेट, जुत्तालगायत आवश्यक सुरक्षा सामग्रीसमेत उपलब्ध गराइनेछ ।
मोटरसाइकल रेसिङको प्रत्यक्ष रोमाञ्च अनुभव गर्न चाहने दर्शकका लागि भने प्रवेश निःशुल्क गरिएको छ । यसले पोखरा तथा आसपासका क्षेत्रका मोटरसाइकलप्रेमीलाई रेसिङ खेल नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।













