पोखरा ।
सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको छ । कप्तान दिपेन्द्र सिंह ऐरी र इसान पाण्डेको उत्कृष्ट साझेदारीमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो । पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।
दिपेन्द्र र इसानले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे । दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । उनी ५१ रनमा अविजित रहे । ३६ बल खेलेका ऐरीले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, बंगलादेशी अलराउन्डर मेहदी हसनको बलमा एलबीडब्ल्यु धरापमा पर्नु अघि इसानले ३१ बलमा ३७ रनको योगदान गरे भने ब्रान्डन म्याकमुलनले २२ तथा सैफ जइबले १५ रन जोडे ।
बलिङतर्फ पोखराका मेहदी हसन, धनन्जय लक्षण र शकिब अल हसनले एक–एक विकेट लिए । यसअघिको पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो । पोखराको भने यो पहिलो हार हो । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पोखराले २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन जोड्यो ।
अर्जुन घर्तीले अविजित ४० रनको योगदान दिए । २५ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गर्दै पोखराको लक्ष्य उकासे । यस्तै, मेहदी हसनले ३२ तथा कुशल भुर्तेलले २१ रन जोडे । शकिब अल हसनले १४ रन बनाउँदा धनन्जय लक्षणले ११ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले तीन विकेट लिँदा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्लेइनले एक–एक सफलता हात पारे ।













