कास्कीमा मोबाइल फुटाएको विवादले लियो युवकको ज्यान

केन्द्रभाग मिडिया

पोखरा ।
मोबाइल फोन फुटाएको विषयमा सुरु भएको विवादले उग्र रूप लिएपछि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एक युवकको हत्या भएको छ । माछापुच्छ्रे गाउँपालिका–७ का २२ वर्षीय राजेन्द्र पौडेलको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा कास्की प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

पौडेलको हत्या आरोपमा सोही ठाउँका ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लीलबहादुर पुन पक्राउ परेका हुन् । उनीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको सुरुवात मोबाइल फोन हराएको विषयबाट भएको देखिएको छ । प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार ८ कात्तिकको साँझ पौडेल आफ्नी दिदी र भिनाजुको घरमा पुगेका थिए । आफ्नो मोबाइल हराएको भन्दै उनले भिनाजु विष्णुप्रसाद गौतमसँग मोबाइल मागेका थिए । भिनाजुले मोबाइल नदिएपछि पौडेलले उनको मोबाइल फुटाइदिएका थिए ।

त्यसपछि पौडेल र अन्य व्यक्तिबीच मादक पदार्थ सेवनको विषयमा सामान्य विवाद भएको थियो । विवादकै क्रममा पौडेलले लीलबहादुर पुनको मौरीको घारमा लात्ती हानेपछि झगडा थप चर्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

झगडाका क्रममा पौडेलले हँसियाले प्रहार गर्दा मिलन विकको घाँटी र आशिष गुरुङको खुट्टामा चोट लागेको बताइएको छ । त्यसपछि सबै जना आ–आफ्नो घर फर्किएका थिए । तर, विवाद त्यत्तिमै रोकिएन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार राति करिब ११ बजेर ५९ मिनेटमा आशिष गुरुङले विक्रम पुन र लीलबहादुर पुनलाई फोन गरेर बोलाएका थिए । त्यसपछि मिलन विक, महादेव विक, आशिष गुरुङ, विक्रम पुन र लीलबहादुर पुन पाँचै जना मिलेर पौडेलको घरमा पुगेका थिए ।

उनीहरूले पौडेललाई बाँसको भाटा, मुक्का तथा लात्तीले प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । कुटपिटबाट घाइते भएका पौडेललाई उनीहरूले घरबाट निकालेर नजिकैको बारीको पाटामा लगेर छाडेको प्रहरीको भनाइ छ ।

भोलिपल्ट ९ कात्तिक बिहान करिब ८ बजेर २० मिनेटमा स्थानीयले पौडेललाई घरदेखि करिब ५० मिटर पूर्वतर्फ रहेको बारीको पाटामा मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले पौडेलको शरीरभरि नीलडाम र चोटपटक रहेको तथा उनी नग्न अवस्थामा रहेको जनाएको छ ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट अनुसन्धान टोली तथा अपराध अनुसन्धानसम्बन्धी प्राविधिक टोली परिचालन भएको थियो ।

घटनास्थलबाट प्रहरीले बाँसका दुईवटा भाटा, एउटा दाउरा, एउटा हँसिया, बियरको बोतलका टुक्रा र एउटा पानीको बोतल बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी  उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार पर्यटक भरियाको काम गर्दै आएका पौडेल घरमा आमा र दुई दाजुभाइसँग बस्दै आएका थिए ।

  • ११ कार्तिक २०८३, बुधबार १७:४६ प्रकाशित