पोखरामा नेपालीसंगै दसैंको टीका लगाएर रमाए विदेशी पर्यटक

केन्द्रभाग मिडिया

पोखरा ।
हिमाल हेर्न र पदयात्राको रोमाञ्चक अनुभव लिन नेपाल आएका विदेशी पर्यटकले पोखरामा नेपालीहरूको महान् चाड दसैंको टीका लगाएका छन् । विगतका वर्षहरुमा होटल संघ पोखराले तिहारको अबसरमा पर्यटकसंग भाइटिका लगाएर मनाउने गरेकामा यसपाली महिला पर्यटन मञ्च (ओटेफ) ले आयोजना गरेको कार्यक्रममा दसैंको टीका लगाउने अबसर समेत विदेशी पर्यटकलाई प्राप्त भएको हो । यससंगै दसैं र तिहार जस्ता नेपाली सांस्कृतिक चाडलाई समेत पोखरामा ब्राण्डिङ गर्ने कामले फड्को मारेको छ । आइतबार निधारमा रातो टीका र कानमा जमरा लगाउँदै पर्यटकले नेपाली संस्कृति र परम्परासँग साक्षात्कार मात्र गरेनन्, नेपालीहरूसँगै दसैंको खुसीसमेत साटासाट गरे ।

पोखराको बाराहीघाट मैदानमा महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आयोजना गरेको दसैं पर्यटन तथा सांस्कृतिक महोत्सवमा सहभागी विदेशी पर्यटक टीका र जमरा लगाएर पर्यटकहरु रमाएका हुन् ।

तीन साताअघि आयरल्यान्डबाट नेपाल आएकी इथा पनि दसैंको टीका लगाउन पाउँदा निकै उत्साहित भएको बताइन् । अस्ट्रेलियामा नेपालीहरूसँग काम गर्दा दसैंबारे धेरै सुनेको बताएकी उनले अन्नपूर्ण फेरो पदयात्रा पूरा गरेर शनिबार पोखरा झरेपछि आफैंले नेपाली संस्कृतिको प्रत्यक्ष अनुभव गर्न पाएको भन्दै खुशीयाली प्रकट गरिन् ।

महोत्सवमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिएका थिए । उनले प्राकृतिक सौन्दर्यसँगै नेपालको मौलिक संस्कृति पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधार बन्न सक्ने बताए । उनले अब नेपालीहरुको सबैभन्दा ठूलो दसैंलाई समेत ब्राण्डिङ गर्ने क्रमको सुरुवात भएको चर्चा गरे ।

उनले आगामी वर्षदेखि कोजाग्रत पूर्णिमाका दिन विदेशी पर्यटकसँग दसैं मनाउने कार्यक्रमलाई महानगरपालिकाको वार्षिक कार्यतालिकामै समावेश गर्ने समेत बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोस पोखरेलले पर्यटकका लागि यो महोत्सव एउटा अर्को आकर्षण बनेको टिप्पणी गरे । पर्यटकका लागि विभिन्न पक्षले काम गर्ने उल्लेख गरेका उनले अगामी दिनमा अझ ब्राण्डिङ गर्न पर्यटन बोर्ड, आयोजक संस्था र सरोकारवाला बीच सहकार्यलाई सशक्त पार्ने उनको भनाइ थियो । पर्यटन प्रवद्र्धनका लागि हुने मेला महोत्सवको आयोजना जसले गरेपनि सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको प्रष्टोक्ति थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले विदेशी पर्यटकलाई नेपाली चाडपर्वको प्रत्यक्ष अनुभव गराउनुले पोखराको पर्यटनमा नयाँ आयाम थप्ने बताए। नेपाली संस्कृति विश्वमाझ चिनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी पहिलो पटक आयोजना गरिएको कार्यक्रम नै सफल बनेको भन्दै पर्यटन र संस्कृतिको प्रबद्र्धनका लागि महिलाको भूमिका सशक्त हुने धारणा राखे । पर्यटक मनोरञ्जनका लागि आउने भन्दै उनले मनोरञ्जनका लागि पर्यटन व्यवसायी, सरकार र सरोकारवालाबीच सहकार्य भएर वातावरण बनाउनुपर्ने बताए ।

महोत्सवकी संयोजक एंव आयोजक संस्थाकी निवर्तमान अध्यक्ष उमा रेग्मी भण्डारीले पर्यटकको बसाइ लम्ब्याउने र नेपाली मौलिक चाडपर्वलाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन् ।

ओटेफ एवं कार्यक्रमका अध्यक्ष ममता न्यौपानेले महोत्सवलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने योजना रहेको जानकारी दिइन् । कार्यक्रममा पत्रकार महासंघ गण्डकीका महासचिव जमुना बर्षा शर्मा, ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली र महासचिव भावना रानाभाट लगायतले महोत्सवको विविध पक्षका बारेमा बोलेका थिए ।

महोत्सवमा मालश्री धुन, कलाकारका प्रस्तुति, परम्परागत पिङ र नेपाली खानाका परिकारले पर्यटकलाई आकर्षित गरेका थिए । महोत्सव सुरु हुनु अगाडि खहरे चोकदेखि महोत्सव स्थलसम्म विभिन्न सांस्कृतिक झाँकी र बाजागाडासहितको र्याली समेत गरिएको थियो ।

  • ८ कार्तिक २०८३, आईतवार २०:०७ प्रकाशित