काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उत्साह अब रंगशालाभित्र मात्रै सीमित नहुने भएको छ । क्रिकेटप्रेमीलाई आफ्नै सहरमा बसेर ठूलो पर्दामा खेल हेर्ने, मनपर्ने टोलीको समर्थन गर्ने र सामूहिक रूपमा क्रिकेटको रोमाञ्चकता अनुभव गर्ने अवसर प्रदान गर्न एक्स्ट्रिम इनर्जी ड्रिंकले देशका नौ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ ।
एनपीएलको माहोललाई देशव्यापी बनाउने उद्देश्यसहित एक्स्ट्रिमले काठमाडौं, विराटनगर, पोखरा, चितवन, धनगढी, सुर्खेत, बुटवल र जनकपुरलगायतका सहरमा फ्यान जोनको व्यवस्था गर्न लागेको हो ।
फ्यान जोनमा क्रिकेटप्रेमीले ठूलो पर्दामा एनपीएलका खेल प्रत्यक्ष हेर्न पाउनेछन् । खेल हेर्ने व्यवस्थासँगै सांगीतिक मनोरञ्जन, विभिन्न रमाइला गतिविधि तथा आकर्षक उपहार प्राप्त गर्ने अवसरसमेत रहने आयोजकले जनाएको छ । फ्यान जोनमा प्रवेश पूर्ण रूपमा निःशुल्क हुनेछ। क्रिकेटप्रेमीले आफ्नो मनपर्ने टोलीको जर्सी लगाएर साथीभाइसँग खेलको आनन्द लिन सक्नेछन् । यसले रंगशालामा पुग्न नसक्ने दर्शकलाई पनि क्रिकेटको उत्सवमा सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
एक्स्ट्रिमले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंको सिफल मैदान, कीर्तिपुर माइक्रो स्ट्यान्ड र त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको गेट नम्बर २ अगाडि फ्यान जोन रहनेछन् । त्यसैगरी विराटनगरको पुरानो गुद्री मैदान, पोखराको मालेपाटन चौर, चितवनको वीरेन्द्र क्याम्पसस्थित डिग्री कलेज परिसर, धनगढीको कभर्ड हल नजिक, सुर्खेतको घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी मैदान र जनकपुरको बाह्रबिघा मैदानमा फ्यान जोन सञ्चालन गरिनेछ ।
क्रिकेटलाई खेलमैदानबाट बाहिर निकालेर आमदर्शकको पहुँचमा पुर्याउने यस्तो प्रयासले एनपीएलप्रतिको आकर्षण थप विस्तार गर्ने अपेक्षा गरिएको छ । विशेषगरी आफ्नै सहरमा सामूहिक रूपमा खेल हेर्न पाउँदा क्रिकेटप्रेमीबीच उत्साह, आत्मीयता र खेलभावनाको विकास हुने विश्वास गरिएको छ ।
फ्यान जोनमा प्रत्यक्ष खेल प्रसारणसँगै संगीत, मनोरञ्जनात्मक गतिविधि र उपहार वितरणको व्यवस्था गरिने भएकाले यी स्थान क्रिकेटप्रेमीको भेटघाट र उत्सव मनाउने केन्द्र बन्न सक्नेछन् ।
एक्स्ट्रिमले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीको जर्सी लगाएर साथीभाइसँग फ्यान जोनमा उपस्थित हुन आह्वान गरेको छ । एनपीएलप्रतिको बढ्दो आकर्षणलाई देशका विभिन्न सहरसम्म विस्तार गर्ने यो अभियानले क्रिकेटलाई खेलका रूपमा मात्र नभई सामूहिक उत्सवका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।













