पोखरा ।
बिरामीको उपचारका लागि औषधि बेच्ने पसल नै मनोद्दीपक औषधिको अवैध कारोबार गर्ने थलो बनेको पाइएको छ । चिकित्सकको सिफारिसबिना बिक्री गर्न नपाइने औषधि खुलेआम बेचबिखन गरेको आरोपमा पोखरामा एक फार्मेसी सञ्चालिका पक्राउ परेकी छन् ।
प्रहरीले उनको औषधि पसलबाट ६ हजारभन्दा बढी चक्की औषधि बरामद गरेको हो । चिकित्सकीय उपचारमा प्रयोग हुने औषधि नै चिकित्सकको सिफारिसबिना बिक्री हुनु जनस्वास्थ्यका दृष्टिले गम्भीर मानिन्छ । लोराजेपाम र क्लोरडायजेपोक्साइडजस्ता औषधि चिकित्सकको निगरानीमा निश्चित स्वास्थ्य समस्याको उपचारका लागि प्रयोग गरिने औषधि भएपनि यसको खुलेआम चिकित्सकको सिफारिस विना नै विक्री हुने गरेको पाइएको छ । यस्ता औषधिको अनियन्त्रित सेवनले निर्भरता, अत्यधिक निद्रा, चेतनामा कमी तथा अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने सम्बन्धित चिकित्सकहरुको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यस विषयमा पोखरामा सञ्चालित फार्मेसीकी सञ्चालिका अभिसा ढुङ्गानालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । उनले चिकित्सकको सिफारिसबिना लोराजेपाम र क्लोरडायजेपोक्साइड लगायतका मनोद्दीपक औषधि बिक्री गर्दै आएको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो ।
प्रहरीका अनुसार प्राप्त सूचना र अनुसन्धानका आधारमा औषधि पसलमा गरिएको जाँचका क्रममा ठूलो परिमाणमा मनोद्दीपक तथा अन्य नियन्त्रित रूपमा बिक्री गर्नुपर्ने औषधि फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिरेन्द्रकुमार पासवानका अनुसार फार्मेसीबाट चार प्रकारका गरी कुल ६ हजार ३ सय चक्की औषधि बरामद गरिएको छ ।
बरामद औषधिमध्ये कोडेप–पी ६ हजार ४ सय चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोरडायजेपोक्साइड १६० चक्की रहेको कास्की प्रहरीले जानकारी दिएको छ । यसअनुसार बरामद औषधिको कुल संख्या ७ हजार १६० चक्की हुन्छ ।
प्रहरीले बरामद औषधिसहित सञ्चालिका ढुङ्गानालाई नियन्त्रणमा लिएर कानुनबमोजिम थप अनुसन्धान गरिरहेको जनाएको छ। औषधि बिक्री गर्ने व्यवसायीले नै बिक्रीसम्बन्धी कानुनी मापदण्ड उल्लङ्घन गरेको आरोप लाग्नुले औषधि पसलहरूको नियमन र अनुगमनको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ।
प्रहरीले लोराजेपाम र क्लोरडायजेपोक्साइडलगायतका औषधि नेपाल राजपत्रमा सूचीकृत मनोद्दीपक औषधिअन्तर्गत पर्ने जनाएको छ। यस्ता औषधिको बिक्रीवितरण प्रचलित कानुन र चिकित्सकीय सिफारिसअनुसार मात्र गर्न पाइन्छ। प्रेगाबालिनसमेत स्वीकृत विशेषज्ञ चिकित्सकको सिफारिस तथा निगरानीमा अस्पतालमा रहेको औषधि पसलबाट मात्र बिक्रीवितरण र प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था रहेको जानकारी प्रहरीले दिएको छ ।
पोखरामा फार्मेसीबाटै ठूलो परिमाणमा औषधि बरामद भएको घटनाले औषधि पसलहरूको नियमित अनुगमन, औषधिको खरिदबिक्री अभिलेख तथा चिकित्सकीय सिफारिसको परीक्षण प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठाएको छ ।
विशेषगरी दुरुपयोग हुन सक्ने औषधिको बिक्रीवितरणमा पर्याप्त निगरानी नहुँदा औषधि व्यवसायको आवरणमा गैरकानुनी कारोबार मौलाउन सक्ने जोखिम रहन्छ ।
यस घटनामा बरामद औषधि कहाँबाट ल्याइएको थियो, कति समयदेखि चिकित्सकको सिफारिसबिना बिक्री भइरहेको थियो र औषधिको आपूर्ति तथा बिक्रीमा अन्य व्यक्ति संलग्न छन् वा छैनन् भन्ने विषय भने सार्वजनिक भएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानबाट औषधिको स्रोत, बिक्रीको प्रकृति र सम्भावित अन्य संलग्नताबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।













