पोखरा ।
हरेक कोजाग्रत पूर्णिमामा पोखराको फेवातालमा अवस्थित तालबाराही मन्दिरमा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । यसपाली भने कोजाग्रत पूर्णिमाको दिन फेवा किनार ताल बाराही घाट खेल मैदानमा दसैं पर्यटन तथा सांस्कृतिक महोत्सव हुनेभएको छ । आइतबार हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) शनिबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिएको छ ।
महोत्सव अघि बिहान साढे १० बजे खहरेचोकदेखि बाराहीघाटसम्म साँस्कृतिक तथा पर्यटन प्रर्वद्धन र्यालीको आयोजना गरिएको महोत्सवकी संयोजक उमा रेग्मी भण्डारीले जानकारी दिइन् । उनका अनुसार र्यालीमा पञ्चेबाजा, विभिन्न पर्यटनसम्बद्ध संघसंस्था, आमा समूह, स्थानीय समुदाय, साँस्कृतिक समूह तथा अन्य सरोकारवालाहरुको सहभागिता रहनेछ ।
स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली परम्पराअनुसार टीका तथा जमरा लगाइदिने महोत्सवको मुख्य आकर्षण ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले जानकारी दिइन् । महोत्सवमा चङ्गा चेट प्रतियोगिता, चमरेली पिङ, रोटे पिङ, तथा घुमाउने पिङ, विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, नेपाली मौलिक खानपान तथा खाद्य संस्कृतिकको प्रदर्शन हुने भएपनि चंगा चेट भने नहुने जनाइएको छ । महोत्सवमा परम्परागत सामाग्रीका स्टल, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यवसायिक स्टल राखिनेछ ।
संस्कृति र पर्यटनलाई जोड्ने प्रयासस्वरुप दसैं महोत्सव गर्न लागिएको ओटेफका अध्यक्ष ममता न्यौपानेले बताइन् । उनले पोखराको पर्यटनलाई थप समृद्ध बनाउन नेपालीको मौलिक पर्व दसैंलाई पर्यटनसँग जोड्दै पर्यटकलाई आर्कषित गर्न यो महोत्सवले सहयोग पुर्याउने विश्वास प्रकट गरिन् । महोत्सवमा १० हजार भन्दा धेरै दर्शकको सहभागिता रहने उनले दाबी गरेकी छन् ।
‘‘टीका, जमरा, चङ्गा चेट स् पोखरामा पर्यटकसँग दशैं भेट’ मुल नारा रहेको महोत्सवले पर्यटकलाई नेपालको सांस्कृतिक चाड दसैंको बारेमा बुझ्ने र बुझाउने अवसरको रुपमा सदुपयोग गरिने छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले महोत्सवको विषयमा देश विदेशबाट बुझ्ने काम भइरहेको भन्दै यसले दसैं संस्कृतिको बारेमा पर्यटकलाई जानकारी दिने र रमाउने अबसर प्रदान हुने धारणा राखे । ओटेफले आयोजना गरेको भएपनि महोत्सव सबै पोखरेलीको भएकाले साथ र सहयोग रहने उनले सुनाए ।
पोखराको पर्यटन क्षेत्रमा महिला पर्यटन व्यवसायीहरुको सहभागिता, नेतृत्व र योगदानलाई थप सशक्त बनाउँदै पर्यटन व्यवसायसँगै स्थानीय संस्कृति, मौलिकता र समुदायको प्रर्वद्धनमा ओटेफले विभिन्न गतिविधि गर्दै आएको छ ।













