काठमाडौं ।
नेपाली कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना तीव्र पारिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा २५ वटा टोली परिचालन गरेर एकैपटक विभिन्न पदको मत गन्न थालिएसँगै बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ ।
बडादसैँलाई ध्यानमा राखेर मतगणना छिटो टुंग्याउने लक्ष्यसहित गणनालाई व्यवस्थित र प्रभावकारी बनाइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका सदस्यसचिव राजु कटुवालका अनुसार दुई क्लस्टरको मतगणना सकिएको छ भने चार क्लस्टरको गणना जारी छ । बाँकी छ क्लस्टरको गणना सुरु गर्ने तयारी भइरहेको छ ।
निर्वाचन समितिका अनुसार जनसम्पर्क समितितर्फ दुई महिला र पाँच खुला गरी सात केन्द्रीय सदस्यको मतगणना सकिएको छ। पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको गणना पनि पूरा भएको छ ।
अहिले खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ। आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हुने खुला, महिला तथा ३५ वर्षमुनिका केन्द्रीय सदस्य र ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मत पनि गनिँदै छ ।
खुलातर्फका ४५ सदस्यको मतगणना थालिँदै
कांग्रेसको नयाँ केन्द्रीय समितिमा कसले स्थान बनाउँछ भन्ने चासोका बीच खुलातर्फका ४५ केन्द्रीय सदस्यको मतगणना पनि सुरु गर्ने तयारी गरिएको छ। खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नेताहरूको मतपरिणामलाई पार्टीभित्र विशेष चासोका साथ हेरिएको छ ।
यसैगरी दलिततर्फको सहमहामन्त्री तथा खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्यस अल्पसंख्यक तथा अपांगतातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यस मधेसीतर्फको सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी छ ।
खस–आर्यतर्फको सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य र पेशागततर्फको खुला तथा महिला केन्द्रीय सदस्य पदको मतगणना पनि बाँकी छ । निर्वाचन समितिले यी पदको गणनालाई समेत तीव्रता दिने जनाएको छ ।
२५ टोली एकैपटक परिचालन गरिएकाले मतगणना तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिको दाबी छ । सबै पदको गणना सकेर बुधबारसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित काम भइरहेको समितिका सदस्यसचिव कटुवालले जानकारी दिए ।
मतगणना सम्पन्न भएपछि कांग्रेसले नयाँ केन्द्रीय कार्यसमिति पाउनेछ। विभिन्न क्लस्टरबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको परिणामले पार्टीको आगामी नेतृत्वमा कुन समूहको कस्तो प्रतिनिधित्व हुन्छ भन्ने पनि स्पष्ट पार्नेछ ।













