पोखरा ।
पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खाना, खेलकुद, संगीत र सामुदायिक गतिविधिलाई एकै ठाउँमा जोड्ने नयाँ गन्तव्यका रूपमा ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको छ । पोखरा लेकसाइडको स्ट्रिट नम्बर १७ मा रहेको पार्कलाई पर्यटक तथा स्थानीय समुदायका लागि भेटघाट, मनोरञ्जन र नयाँ अनुभव साटासाट गर्ने साझा थलोका रूपमा विकास गरिएको हो ।
पोखराबाट सुरु भएको मिरक्याट इन नेपाललाई केन्द्रका रूपमा विस्तार गर्ने योजनाअनुसार पार्क सञ्चालनमा ल्याइएको मिरक्याट इन नेपालका सञ्चालक सागर भट्टराईले जानकारी दिए। उनका अनुसार करिब चार करोड रुपैयाँ लगानीमा विभिन्न संरचना निर्माण गरी पार्क सञ्चालनमा ल्याइएको हो।
भेट्ने, नयाँ ठाउँ र अनुभवसँग जोडिने अवधारणामा आधारित पार्कलाई परम्परागत व्यावसायिक कम्प्लेक्सभन्दा फरक बनाउने प्रयास गरिएको भट्टराईले बताए। यसअघि एपका रूपमा सञ्चालन हुँदै आएको मिरक्याटलाई अहिले भौतिक संरचनासहित विस्तार गरिएको उनको भनाइ छ ।
पार्कमा विभिन्न व्यवसायी तथा उद्यमीले आफ्ना उत्पादन, सेवा र अनुभव प्रस्तुत गर्न सक्ने व्यवस्था मिलाइएको छ । पोखरा रोस्ट्री कफीले कफी तथा स्थानीय संस्कृतिसँग जोडिएका अनुभवसहित कफीसम्बन्धी कक्षा सञ्चालन गर्नेछ। लावण्य वेलनेसले वेलनेससम्बन्धी सेवा उपलब्ध गराउनेछ भने पोराले रोटिसेरी चिकेन तथा स्म्यास्ड बर्गरको स्वाद चखाउनेछ ।
त्यस्तै, पाम्मी मार्टमार्फत कोरियन स्न्याक्स तथा उत्पादन उपलब्ध हुनेछन् नेसनल जियोग्राफिक एक्सप्लोरर रोहित गिरीको भेटघाट केन्द्रले प्रकृति, वन्यजन्तु र अनुसन्धानमा रुचि राख्नेहरूका लागि भेटघाट तथा छलफलको वातावरण तयार गर्नेछ । संगीत तथा सिर्जनात्मक गतिविधिका लागि बैदाम जाम, खेलकुद तथा सामाजिक अन्तरक्रियाका लागि डिङ्कहाउस पिकलबल र गेमिङका लागि मिनी आर्केड हब पनि पार्कमा सञ्चालनमा छन् ।
पार्कमा योग, कार्यशाला, पोडकास्ट, ग्यादरिङ तथा विभिन्न सामुदायिक कार्यक्रम सञ्चालन गर्न बहुउद्देश्यीय हलसमेत निर्माण गरिएको छ। करिब ५० जना अटाउन सक्ने हल विभिन्न कार्यक्रम, छलफल तथा सामूहिक गतिविधिका लागि उपयोग गर्न सकिनेछ। पार्क परिसरमा रहेका छवटा भवनमा विभिन्न पसल तथा सेवाहरू सञ्चालनमा छन् । मिरक्याट पार्कसँगै सञ्चालनमा रहेको मिरक्याट डिजिटल प्लेटफर्मले नेपाल आउने विदेशी पर्यटक, ब्याकप्याकर, डिजिटल नोमाड, स्थानीय गाइड, होस्ट, उद्यमी तथा पर्यटन व्यवसायीलाई जोड्ने लक्ष्य राखेको छ ।
डिजिटल प्लेटफर्ममा ट्रेकिङ तथा एड्भेन्चर, इभेन्ट, स्वयंसेवा, गाइड तथा होस्ट कनेक्सन, कम्युनिटी बुलेटिन र स्थानीय सूचना तथा सिफारिसजस्ता सुविधा समेटिएका छन् । पार्कलाई विभिन्न रुचि, पृष्ठभूमि र क्षेत्रका मानिसले एकै ठाउँमा भेटघाट गर्न, अनुभव साटासाट गर्न र नयाँ सम्बन्ध निर्माण गर्न सक्ने साझा थलोका रूपमा विकास गर्न खोजिएको सञ्चालक भट्टराईले बताए ।













