बलिउडका चर्चित अभिनेता नाना पाटेकरको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

बलिउड तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन भएको छ । उनको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ ।

नाना पाटेकरका छोरा मल्हार पाटेकरले उनको निधनको पुष्टि गरेका छन् । गोवाको डोना पाउलास्थित घरमा बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो । उपचार प्रयास सफल हुन नसकेपछि बिहान करिब ५स्२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रारम्भिक विवरणमा उनको मृत्युको कारण गम्भीर हृदयाघात बताइएको छ । पोस्टमर्टमपछि निधनको कारण थप स्पष्ट हुने अस्पतालका चिकित्सकले बताएका छन् ।

७५ वर्षीय नाना पाटेकर हिन्दी र मराठी चलचित्रका प्रभावशाली अभिनेताका रूपमा परिचित थिए। उनको वास्तविक नाम विश्वनाथ पाटेकर थियो ।

सन् १९७८ मा ‘गमन’बाट चलचित्रमा अभिनय यात्रा सुरु गरेका उनले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘नटसम्राट’लगायत चलचित्रमा अभिनय गरेका थिए ।

‘क्रान्तिवीर’का लागि उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए भने ‘परिन्दा’ र ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय पुरस्कार जितेका थिए।

सन् २०१३ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मान गरेको थियो।

  • २२ आश्विन २०८३, बिहीबार ०८:५२ प्रकाशित