पोखराका उद्यमी केसीले गरे कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराका उद्यमी एवं युवा नेता किरण केसीले कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित केसीले पोखराको उद्योग–व्यवसाय क्षेत्रमा हासिल गरेको अनुभव, निजी क्षेत्रसँगको सहकार्य र युवाको नेतृत्वलाई पार्टीको नीति तथा निर्णय प्रक्रियासँग जोड्ने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पोखराको उद्योग–व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय केसीले जलविद्युत्, बैंकिङ, बीमा तथा निर्माण क्षेत्रमा लगानी र व्यवस्थापनको अनुभव हासिल गरेका छन्। उनी ‘केसी ग्रुप अफ कम्पनीज’का निर्देशक हुन्। निजी क्षेत्रबाट हासिल गरेको व्यावसायिक अनुभवलाई राजनीतिक नेतृत्व र राज्यको नीतिनिर्माणसँग जोडेर लगानीको वातावरण, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक विकासका मुद्दालाई कांग्रेसको प्राथमिकतामा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताएका छन् ।

केसीले आफ्नो उम्मेदवारीलाई परम्परागत राजनीतिक प्रतिस्पर्धाभन्दा फरक ढंगले अघि बढाउन खोजेका छन् । उनका अनुसार निजी क्षेत्रले भोगिरहेका समस्या, युवाको रोजगारी र उद्यमशीलताका चुनौती तथा आर्थिक गतिविधि विस्तारका विषयलाई राजनीतिक दलको नीति निर्माणसँग प्रत्यक्ष जोड्न आवश्यक छ । ‘मेरो उम्मेदवारी केवल एउटा पद प्राप्त गर्ने आकांक्षाका रूपमा होइन,’ केसीले भने, ‘युवाहरूलाई राजनीतिसँग जोड्ने, निजी क्षेत्र र राजनीतिक नेतृत्वबीच सार्थक संवाद बढाउने, उद्यमशीलता र रोजगारीका विषयलाई नीतिगत प्राथमिकतामा लैजाने तथा अनुभव र नयाँ सोचबीच पुल निर्माण गर्ने प्रयासका रूपमा अघि बढाउन चाहन्छु।’

पोखराको उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय रहँदा व्यवसाय विस्तारसँगै रोजगारी सिर्जना, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान गर्दै आएको केसीको दाबी छ । व्यवसायसँगै सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि सक्रिय उनले पोखरास्थित कालिका बहुमुखी क्याम्पसको व्यवस्थापन समिति अध्यक्षका रूपमा काम गरिरहेका छन् ।

त्यस्तै, पोखरा स्कुल अफ टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्टका सल्लाहकारका रूपमा पनि उनी आबद्ध छन् । व्यवसायमा निजी क्षेत्रको अनुभव र राजनीतिमा युवाको सहभागितालाई सँगसँगै अघि बढाउनुपर्ने उनको धारणा छ। आर्थिक समृद्धिको आधार उत्पादन, लगानी, उद्यमशीलता र रोजगारी भएकाले कांग्रेसले अब राजनीतिक मुद्दासँगै आर्थिक नीति र निजी क्षेत्रका सवाललाई पनि प्राथमिकताका साथ उठाउनुपर्ने केसी बताउँछन्।

कांग्रेसको इतिहास र अनुभवी पुस्ताको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई पार्टीको निर्णय प्रक्रियामा अर्थपूर्ण भूमिका दिनुपर्ने उनको भनाइ छ । अनुभवी पुस्तासँग रहेको राजनीतिक ज्ञान र नयाँ पुस्तासँग रहेको ऊर्जा तथा नयाँ सोचलाई जोड्न सके पार्टी थप प्रभावकारी बन्ने उनले बताए ।

उनले आसन्न महाधिवेशनलाई कांग्रेसको नेतृत्व चयनसँगै पार्टीको आगामी आर्थिक, सामाजिक र राजनीतिक दिशाबारे बहस गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । युवाको प्रतिनिधित्व, निजी क्षेत्रसँगको संवाद र आर्थिक एजेन्डालाई प्राथमिकतामा राख्दै आफूले केन्द्रीय सदस्यको उम्मेदवारी अघि बढाएको उनको भनाइ छ ।

सन् २००४ मा लन्डनको बोस्टन कलेजबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक गरेका केसीले सन् २०११ मा भारतको गुजरातस्थित क्यालोरेक्स टिचर्स युनिभर्सिटीबाट एमबिए गरेका छन् । व्यावसायिक क्षेत्रमा प्राप्त ज्ञान र अनुभवलाई अब राजनीतिक नेतृत्वमार्फत सार्वजनिक नीति निर्माणमा उपयोग गर्ने उनको तयारी छ ।

  • १९ आश्विन २०८३, सोमबार १९:१५ प्रकाशित