पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं।५ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं।०८ न्युरोड बस्ने वर्ष २६ का राजु न्यौपाने र पोखरा महानगरपालिका वडा नं १८ सराङकोट बस्ने वर्ष ३१ का नारायण थापा रहेको प्रहरीले जानकारी दिएको छ ।
हिजो साँझ साढे ७ बजेको समयमा न्यूरोडमा लागू औषध ओसार पसार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका न्यौपानेको साथबाट लागू औषध ब्राउनसुगर ५.१७ ग्राम र एउटा मोइबाइल र थापाको साथबाट लागू औषध ब्राउन सुगर ४.१५ ग्राम, २ वटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि ८ दिनको म्याद थप गरी लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।













