कोजाग्रत पूर्णिमाको दिन पोखरामा दशैं महोत्सव

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालीहरुको महान पर्व बडादशैंको सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न पोखरामा दशैं महोत्सव आयोजना हुने भएको छ ।

महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)को आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रर्वद्धनमा दशैं पर्यटन तथा साँस्कृतिक महोत्सव आयोजना हुन लागेको हो ।

दशैं पर्यटन महोत्सव कार्तिक ८ गते कोजाग्रत पूर्णिमाको दिन हुन लागेको पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक ओटेफले जानकारी दिएको हो ।

महोत्सव लेकसाइडको बाराहीघाट मैदानमा आयोजना हुने कार्यक्रमका अध्यक्ष ममता न्यौपानेले जानकारी दिइन् ।
महोत्सव अघि कोजाग्रत पूर्णिमाको दिन बिहान साढे १० बजे खहरेचोकदेखि बाराहीघाटसम्म साँस्कृतिक तथा पर्यटन प्रर्वद्धन र्याली हुने अध्यक्ष न्यौपानेले बताइन् ।

न्यौपानेको अनुसार र्यालीमा पञ्चेबाजा, विभिन्न पर्यटनसम्बद्ध संघसंस्था, आमा समूह, स्थानीय समुदाय, साँस्कृतिक समूह तथा अन्य सरोकारवालाहरुको सहभागिता रहनेछ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली परम्पराअनुसार टीका तथा जमरा लगाइदिने महोत्सवको मुख्य आकर्षण रहेको छ ।

महोत्सवमा चङ्गा चेट प्रतियोगिता, चमरेली पिङ, रोटे पिङ, तथा घुमाउने पिङ, विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, नेपाली मौलिक खानपान तथा खाद्य संस्कृतिकको प्रदर्शन हुने संस्थापक अध्यक्ष जमुना पराजुलीले बताइन् । पराजुलीको अनुसार महोत्सवमा परम्परागत सामाग्रीका स्टल, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यवसायिक स्टल राखिनेछ ।

संस्कृति र पर्यटनलाई जोड्ने प्रयासस्वरुप दशैं महोत्सव गर्न लागिएको ओटेफकी निर्वतमान अध्यक्ष उमा भण्डारीले पत्रकार सम्मेलनमा बताइन् । पोखराको पर्यटनलाई थप समृद्ध बनाउन नेपालीको मौलिक पर्व दशैंलाई पर्यटनसँग जोड्दै पर्यटकलाई आर्कषित गर्न यो महोत्सवले सहयोग पुर्याउने भण्डारीले विश्वास व्यक्त गरिन् ।

महोत्सवको तयारी तथा व्यवस्थापनका लागि महिला पर्यटन व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष उमा भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।‘टीका, जमरा, चङ्गा चेट : पोखरामा पर्यटकसँग दशैं भेट’ महोत्सवकोे मुल नारा रहेको छ ।

कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा महोत्सव महोत्सवको सहर बनेको चर्चा गर्दै यो महोत्सवको पनि विशेष महत्व रहने बताए । उनले सबै महोत्सव पोखरा र पोखरेलीका साझा महोत्सव भएकाले सफल पार्न लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत जयशक्ति सराफले पर्यटन क्षेत्रमा सांस्कृतिक आयामको महत्त्वपूर्ण भूमिका रहने  र यो महोत्सव निकै उपयोगी हुने बताए ।

पोखराको पर्यटन क्षेत्रमा महिला पर्यटन व्यवसायीहरुको सहभागिता, नेतृत्व र योगदानलाई थप सशक्त बनाउँदै पर्यटन व्यवसायसँगै स्थानीय संस्कृति, मौलिकता र समुदायको प्रर्वद्धनमा महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले विभिन्न गतिविधि गर्दै आएको छ ।

  • ९ आश्विन २०८३, शुक्रबार १५:१७ प्रकाशित