धादिङ ।
निरन्तरको वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग धादिङका पाँच स्थानमा अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गमा यातायात सेवा प्रभावित बनेको हो।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, बेनीघाट रोराङ–१० तिग्राडखानी, बेनीघाट रोराङ–९ ज्यामिरेघाट, गजुरी गाउँपालिका–२ परेवा भिर र बेनीघाट रोराङ–१० ज्वाङखोलामा सडक अवरुद्ध भएको छ।
कृष्णभिरमा माथिबाट ढुङ्गासहित पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको छ। पहिरो पन्छाउने काम भइरहे पनि ढुङ्गा खस्ने क्रम नरोकिएपछि काम रोकिएको प्रशासनले जनाएको छ। तिग्राडखानी र ज्यामिरेघाटमा पनि ढुङ्गासहित पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ। दुवै स्थानमा सडक खुलाउने काम भइरहेको छ।
गजुरी गाउँपालिका–२ स्थित परेवा भिरमा रुखसहित पहिरो खसेका कारण सडक एकतर्फी अवरुद्ध छ। त्यहाँ अवरोध हटाउने काम भइरहेको छ। त्यस्तै, बेनीघाट रोराङ–१० स्थित ज्वाङखोलामा ढुङ्गासहित पहिरो खसेपछि सडक एकतर्फी अवरुद्ध भएको छ। उक्त स्थानमा पनि पहिरो पन्छाउने काम भइरहेको छ।
धादिङमा निरन्तर वर्षा भइरहेको र भारी वर्षाको सम्भावना कायमै रहेकाले सडकको अवस्था र जोखिमलाई ध्यानमा राखेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न तथा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।













