बुटवल ।
लगातारको वर्षाका कारण पाल्पाका दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
तिनाउ गाउँपालिका–५ अन्तर्गत चरचरे र जोरधाराबीच सिद्धार्थ राजमार्गमा सडक माथिबाट पहिरो खस्दा केही समयदेखि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि बीच बाटोमै सवारीसाधन रोकिएका छन्।
पहिरोका कारण अवरुद्ध सडक खुलाउन आवश्यक समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
त्यस्तै, रिब्दीकोट गाउँपालिका–५ स्थित माराबास र बोदीको बतासेबाट रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकखण्डमा पनि वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ। उक्त सडक खुलाउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।
लगातार वर्षा भइरहेकाले सडक खुलाएपछि पनि पुनः पहिरो खस्न सक्ने जोखिम रहेको भन्दै प्रहरीले यात्रुलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ।













