काठमाडौं ।
प्रतिनिधिसभा सदस्यका लागि संघीय संसद् भवनमा सञ्चालित क्यान्टिन आज बन्द गरिएको छ।सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले क्यान्टिनमा महँगो मूल्य निर्धारण गरिएको भन्दै प्रश्न उठाएका थिए।
उनले कालो चियाको १०० रुपैयाँ र ममको ३०० रुपैयाँ मूल्य राखिएको भन्दै सांसद, कर्मचारी तथा मर्यादापालकको आर्थिक अवस्थालाई ध्यान दिन संसद् सचिवालयको ध्यानाकर्षण गराएका थिए।
सांसद सुनारले संसद् परिसरका क्यान्टिनमा सर्वसाधारणको पहुँचमा हुने गरी मूल्य निर्धारण गर्नुपर्ने मागसमेत गरेका थिए।उनले संसद्मा विषय उठाएपछि मंगलबार प्रतिनिधिसभा सदस्यका लागि सञ्चालित उक्त क्यान्टिन आज बन्द गरिएको हो। तर उक्त क्यान्टिन अरु दिन खुल्ने/नखुल्नेबारे भने केही बताइएको छैन ।














