पाकिस्तानमा विस्फोट, कम्तीमा १६ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाटमा पूर्वप्रहरी लाइन भवननजिक भएको विस्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् ।

खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक जुल्फिकार हमिदले प्रारम्भिक रिपोर्टअनुसार विस्फोटक पदार्थले भरिएको एउटा गाडी पुरानो प्रहरी लाइनमा ठोक्किएको बताएका छन् । विस्फोटपछि सशस्त्र चरमपन्थीहरूसँग गोली हानाहान भइरहेको उनले बताए ।

खैबर पख्तुनख्वाका प्रहरी प्रमुखका अनुसार प्रारम्भिक विवरणले विस्फोटपछि एक आत्मघाती हमलाकारीले स्पेसल ब्रान्चनजिकै आफूलाई विस्फोट गराएको संकेत गरेको छ ।

बीबीसी उर्दूका अनुसार गोली हानाहानमा एक चरमपन्थी मारिएका छन् । स्थानीय प्रहरीका अनुसार विस्फोट शुक्रबार स्थानीय समयअनुसार दिउँसो करिब १ः१५ बजे भएको हो ।

घटनास्थलमा उद्धार अभियानका लागि हाल १४ वटा एम्बुलेन्स र ४० भन्दा बढी कर्मचारी परिचालन भएका छन् ।पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले कोहाट विस्फोटको निन्दा गर्दै ठूलो संख्यामा मानिस घाइते भएको घटनाप्रति दुस्ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शहबाज सरिफले घाइतेलाई तत्काल उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् ।उनले विस्फोटको कारणबारे सम्बन्धित अधिकारीसँग रिपोर्ट माग्नुका साथै राहत तथा उद्धार कार्यलाई तीव्रता दिन र प्रभावितलाई आवश्यक सबै सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

गृहमन्त्री मोहसिन नक्वीले पनि कोहाट विस्फोटको निन्दा गर्दै जनधनको क्षतिप्रति दुस्ख व्यक्त गरेका छन् ।

  • २ आश्विन २०८३, शुक्रबार १७:०५ प्रकाशित